सुडानका राष्ट्रपति अब्दलाह हामदोक फर्किए खार्तुनस्थित आफ्नो निवास
१० कात्तिक, काठमाडौं । सैनिक ‘कु’पछि अपदस्त गरिएका सुडानका राष्ट्रपति अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् ।
सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ ।
सेनाले सत्तापलटपछि हामदोकसहित अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरी नजरबन्दमा राखेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले सेनाको उक्त कदमको निन्दा गरेपछि मंगलबार उनी नजरबन्द मुक्त भएका हुन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत हामदोकलाई तत्काल रिहा गर्न भन्दै ‘सत्तापलटको महामारी’विरुद्ध शक्ति राष्ट्रलाई एकजुट भएर लड्न भनेका थिए ।
नजरबन्दमा रहेका अन्य अधिकारी भने सेनाको नियन्त्रणमै छन् । उनीहरुको अवस्था अज्ञात रहेको समाचारमा बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्