सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोक सेनाको नियन्त्रणमा
८ कात्तिक, सुडान । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ ।
अलजजिरा अनलाइनले अल हदाथ टिभीलाई उद्धृत गर्दै लेखेअनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई उनकै घरभित्र नजरबन्दमा राखिएको छ । यद्यपि यो कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अलजजिराले जनाएको छ ।
सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ ।
यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैंले सामाजिक सन्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् ।
सन्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।
सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आह्वान गरेका थिए ।
गत सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाब चर्किएको छ ।
सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो ।
अहिले आम नागरिक र सैन्य प्रतिनिधिसहितको संक्रमणकालीन सरकारले सुडानको सत्ता सम्हालिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्