सि ए टी क्याट, क्याट माने मुसा

शिक्षक आन्दोलन चर्किरहेको छ, त्यसैले गुरुहरूले विद्यार्थीलाई राम्ररी पढाइरहेका छैनन् । राम्ररी मात्र होइन, सही कुरा नै पढाएका छैनन् । मेरो छोरालाई स्कूलमा सी ए टी क्याट, क्याट माने मुसा भनेर पढाइएको रहेछ । यो त पटक्कै मिलेन । स्कूलमा गएर शिक्षकलाई भेटेँ । अनि छोरोलाई पढाइएको विषयमा कुरा राखेँ, ‘के हो सर, तपाईंंले त बच्चाहरूलाई सि ए टी क्याट, क्याट माने मुसा भनेर पो पढाउनुभएछ । के पढाउन आउँदैन ?’ शिक्षकले भने, ‘पढाउन राम्ररी आउँछ तर म पढाउँदिन । सरकारले दिने तलबै पुग्दैन, अनि कसरी राम्ररी पढाउने ?’
‘तलब पुग्दैन भन्दैमा गलत पढाउने त ?’




‘गलत पढाएको होइन, हामीलाई प्राप्त हुने तलबअनुसारको पढाइ गरेको हो । हामीलाई सरकारले जति तलब दिन्छ नि, त्यसअनुसार पढाउँदा क्याट माने मुसा नै हुन्छ, त्योभन्दा बढी हुन सक्दैन । हामीले सरकारलाई तलब बढाइदिनुपर्यो भनेर माग गरेकै यही कारणले हो ताकि विद्यार्थीलाई सही शब्दको सही अर्थ पढाउन सकियोस् । यति तलबमा त हामी मुसाभन्दा माथि जान सक्दैनौं ।’
किन हो खै, शिक्षकको तर्क मलाई पनि मनासिब लाग्यो । तलबै नपुगेपछि त न राम्रो पढाउन सकिन्छ, न सही पढाउन सकिन्छ । अहिलेको तलबमा त मुसा मात्रै पढाउन सकिन्छ । त्यसैले शिक्षकको तलब बढ्नै पर्छ । त्यसपछि शिक्षक आन्दोलनप्रति मैले पनि नैतिक समर्थन जनाउन थालेँ । शिक्षकको तलब बढ्नै पर्छ ! बढ्नै पर्छ, बढ्नै पर्छ !!
नभन्दै शिक्षकको माग पूरा भयो । तलब बढ्ने भयो । तलब मात्र होइन भत्ता बढ्यो । सुविधा पनि बढ्यो । बिदा पनि बढ्यो । अर्थात् शिक्षकहरूले जति खोजेको हो त्योभन्दा बढी प्राप्त भयो । शायद यही कारणले अचेल शिक्षकहरू खुशी छन् । खुशी भएकै कारणले होला, अहिले आफ्ना विद्यार्थीलाई सी ए टी क्याट, क्याट माने हात्ती भनेर पढाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्