सिन्धुलीमा कमलामाई नगरले थाल्यो बिना धितो ऋण लगानी

सिन्धुलीको कमलामाई नगरपालिकाले युवा व्यवसायीहरुलाई बिना धितो ऋण लगानी गर्न थालेको छ। युवा व्यवसायीहरुलाई नगर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १ लाखदेखि ५ लाख रुपैयाँसम्म बिना धितो बिना ब्याज लगानी गर्न थालिएको हो।

बिहीबार एक कार्यक्रमबीच नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरभित्रका ६ जना युवा व्यवसायीलाई १ लाखदेखि दुई लाख रुपैयाँसम्मको सहुलियत पूर्ण ऋण रकमको चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन्।

frontline

वडा कार्यालयको सिफारी र नगर प्रमुख स्वयम् स्थलगत अनुगमनपछि नगरभित्रै स्वरोजगार व्यवसाय गर्दै आएका युवाहरुलाई सहुलियतपूर्ण ऋण लगानी गरिएको नगरपालिकाका प्रवक्ता कर्णबहादुर घिसिङले जानकारी दिए। उनले भने,‘यस अघिनै नगरपालिकामा सहुलियत पूर्ण ऋण पाउँ भनि वडा कार्यालयको सिफारिससहित निवेदन दिएकामध्येबाट पहिलो चरणमा छनोट भएका ६ जनालाई आज नगर प्रमुखले चेक हस्तान्तरण गर्नुभएको छ। बाँकीलाई अब निरन्तर यस्तो रकम प्रदान गरिने छ।’

प्रवक्ता घिसिङका अनुसार ऋण पाउनेहरुमा कमलामाई नगरपालिका ७, ८ र ९ नम्बर वडाका छन्। ‘उनीहरुमध्ये व्यवसायिक तरकारी खेति गर्दै आएकी ज्ञानकुमारी कार्की, बंगुर पालन गर्ने आएकी पार्वती रुम्बा, राँगा तथा बाख्रा पालन गर्दै आएकी मिठू वाइवा, किराना पसल गर्ने उजेलीमाया स्याङतान र उर्मिला बस्नेत तथा आल्मुनियम फेव्रिकेशन तथा सिसा पसल गर्ने गोविन्द गौतमले १ लाख पचास हजारदेखि २ लाखसम्म ऋण लिएका छन्,’ उनले थपे।

लगानी अभावमा बीचैमा व्यवसाय छाड्न नपरोस् भन्नका लागि प्रोत्साहन स्वरुप नगर स्वरोजगार कार्यक्रम अन्तरगत बिना धितो र बिना ब्याज ऋण लगानी गरिएको हो। यो कार्यक्रम नगरमा पहिलो पटक सुरुवात भएको हो। उक्त कार्यक्रम अन्तरगत नगरपालिकाका १४ वटै वडाबाट ५ सय ३७ जना युवा व्यवसायीले निवेदन दिएका छन्। उनीहरुमध्ये पहिलो चरणमा ७ वटा वडाका २१ जना व्यवसायी ऋण लगानीका लागि योग्य देखिएका र अन्य व्यवसायीको निवेदन माथी छानविन तथा स्थलगत अनुगमन भइरहेको घिसिङको भनाई छ।

नगर प्रमुख खत्रीको चुनावी घोषणा पत्र र नगरपालिकाका युवाहरुलाई रोजगारसँग जोड्ने लक्ष्यका साथ ऋण लगानी गर्न थालिएको बताइएको छ। यस्तो रकम व्यवसाय हेरेर १ लाखदेखि बढीमा ५ लाख रुपैयाँसम्म पाउने छन्। यसका लागि नगरले चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ रकम विनियोजन गरेको छ। आगामी वर्षसमेत यस कार्यक्रमलाई निरन्तरता दिने र आगामी वर्ष थप १ करोड रुपैयाँ विनियोजन गरेर उक्त रकमलाई घुम्ति कोषका रुपमा निरन्तर लगानी गर्ने योजना बनाइएको प्रमुख प्रशासकिय अधिकृत विसकशेन ढकालले बताए। ढकालले भने,‘बिना धितो र बिना व्याज ऋण प्राप्त गर्ने व्यवसायीहरुले २ वर्ष नगरलाई भित्रमा फिर्ता गरिसक्नु पर्ने व्यवस्था छ। पहिलो पाँच महिनासम्म उनीहरुले किस्ता फिर्ता गर्नु पर्दैन भने छैटौं महिनादेखि हरेक महिना किस्ता तिर्दै जानुपर्ने प्रावधान रहेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here