साफ च्याम्पियनसिप असोज १५ देखि माल्दिभ्समा

शुक्रबार, काठमाडौं ।  साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले १३औं संस्करणको साफ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ।

पाँच राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप आगामी असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ। 

frontline

यस संस्करणमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने छ। भुटान र पाकिस्तानले भने सहभागिता जनाउने छैनन्।

भुटानले कोरोना महामारीको कारण देखाउँदै प्रतियोगिताबाट हात झिकेको छ भने पाकिस्तान फुटबल संघ फिफाको निलम्बनमा छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको छ। साफ च्याम्पियनसिप असोज १५ देखि २७ सम्म आयोजना हुँदैछ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १७ मा प्रतिस्पर्धा गर्नेछ। यसैगरी असोज २२ मा भारत र लिग चरणको अन्तिम खेलमा असोज २४ गते बंगलादेशको सामना गर्नेछ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज २७ मा प्रतिस्पर्धा गर्ने छन्।

साफ च्याम्पियनसिपका लागि नेपालले लामो समयदेखि तयारी गरिरहेको छ। बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीले पोखरामा तयारी गरिरहेका छन्। 

उनीहरूलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षण दिइरहेका छन्। उनले सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका छन्।

३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन्। भरत खवास, विक्रम लामा, रञ्जित धिमाल,  जर्जप्रिन्स कार्की, राजीव लोप्चन, सञ्जोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दीप पौडेल र विशाल सुनार बाहिरिएका छन्।

साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here