साउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनी

काठमाडौँ, माघ २४ गतेबसुुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने विज्ञान प्रदर्शनी सुरु भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको विहिबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।
विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो । कलेज स्थापना भएदेखि नै हरेक वर्ष आयोजना भइरहेको प्रदर्शनी कोभिड संक्रमणको समयमा दुुइ वर्ष सञ्चालन गर्न सकिएको थिएन । प्रदर्शनीको उद्घाटन गर्दै उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताउनुभयो ।




राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको सिंहले बताउनुभयो । विद्यार्थीले सैद्धान्तिक रुपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पु¥याउने बताउँदै उप्रप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंले भन्नुभयो, ‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई प्रेरणा मिल्नेछ ।’
विज्ञान र प्रविधिको विकास विना देशको विकास गर्न नसकिने भएकोले सरकारले अब शिक्षा निती बनाउँदा यस विषयलाई प्राथमिकता दिनुपर्ने सिंहको भनाई थियो । कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको बताउनुभयो ।
नीजि शैक्षिक संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पुर्ण रुपमा उपलब्ध गराइरहेको जानकारी गराउँदै नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने सन्दर्भमा साउथवेस्टर्न कहिले पनि नाइ भनेको छैन । यस हिसावले पनि साउथवेस्टर्न धन्यवादको पात्र बनेको छ ।’
कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै पनि अविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान र प्रविधिलाई जोड दिँदै आएको जानकारी दिनुभयो ।
कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगितिक कार्यक्रम लगायतका प्रस्तुती रहने छ । प्रदर्शनीबाट विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभालाई हौसला मिल्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीहरुलाई विभिन्न चरणको प्रतियोगितामा सहभागी गराएर नगद, शिल्ड तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ । यस समुह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ । यि संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्