सही सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न सहयोग संघर्ष समितिको महानगरसँग ऐक्यवद्धता
२० मंसिर, काठमाडौं । उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ ।
मंगलबार समितिले सुकुम्बासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्बासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो ।
समितिले सुकुम्बासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ ।
काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि मंगलबार महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्बासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ ।
प्रदर्शनपछि बोल्दै आन्दोलित महेशलाल बज्राचार्यले सुकुम्बासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्बासीको तथ्यांक संकलन गरी सही सुकुम्बासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्बासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सुकुम्बासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा भइरहेका गतिविधिहरुको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले सुकुम्बासीहरुले नगरप्रहरी समक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुम्बासी व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाउनुभयो ।
उहाँले सुकुम्बासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरुले सुकुम्बासीको समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताउनुभयो ।
त्यस्तै, अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरुलाई काखी च्यापेको आरोप लगाउनुभयो ।
उहाँले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरुको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरुले हस्तक्षेप गरिरहेको बताउनुभयो । उहाँले सुकुम्वासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताउनुभयो ।
त्यस्तै, अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्बासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरुलाई हटाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरुको हस्तक्षेप भइरहे आन्दोलन थप चर्काउने चेतावनी दिनुभयो ।
प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्वासी भूमि बनाउन पाइँदैन, सुकुम्बासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्