सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड

३ साउन, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन्स (आईओसी)को बक्याैता रकम घटाएको छ ।

मंगलबार दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्याैता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

frontline

‘आइओसीलाई तिर्नुपर्ने बक्याैता रकम ३१ अर्ब २० करोड थियो । बिहीबार १६ अर्ब ८० करोड बुझाएका छौं,’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने, ‘अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।’

निगमले सरकारसँगै ऋण लिएर आईओसीलाई बक्याैता बुझाएको हो । जसले गर्दा निगमको दायित्व घटेको नभई स्थानान्तरण मात्रै भएको छ ।

निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ ।

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हाे ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा निगमलाई केही राहत मिले पनि पुरानो बक्याैताका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन ।

आईओसीले ४ दिनअघि मात्रै पठाएको मूल्यअनुसार प्रतिलिटर पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

तर सरकारले कर समायोजन नगरिदिँदा सर्वसाधारणले घटेको मूल्यमा इन्धन पाउन सकेनन् । आईओसीबाट मूल्य घटेर आएपनि भुक्तानी गर्नुपर्ने रकम पूर्ण रुपमा चुक्ता नभएसम्म मूल्य यथावत राख्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here