सरकारलाई विश्वासको लायक भएको प्रधानमन्त्रीको जिकिर, सरकारले गलत नगरेको दाबी
फ्रन्टलाइन राजनीति । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताउनुभएको छ ।
विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उहाँले भन्नुभयो , ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु। कोरोनाको महामारी छ। विचारमार्फत होइन। स्वार्थ र संलग्नतालाई हेरेर होइन। सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ। सच्चाइलाई पछ्याउँछौँ भने वर्तमान सरकार विश्वास नगर्नुपर्ने सरकार होइन।’
राष्ट्रियता र स्वाधिनताको पक्षमा अहिलेको सरकार कटिबद्ध भएको उहाँले स्पष्ट गर्नुभयो । सुशासन र शान्ति सम्झौतालगायत देश विकासमा आफ्नो सरकार लागेको ओलीको दाबी थियो ।
उहाँले आफ्नो सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको समेत दाबी गर्नुभयो । कोरोना महामारी नियन्त्रण गर्नका लागि सरकार लागिरहेको उहाँको भनाइ छ।
‘कोरोनाको खोप ल्याउनुमा अनियमिता भएको छैन, भएको पाइएमा कारबाही हुन्छ। हामीले पहिलो चरणमा पनि खोप ल्याएका थियौँ। अहिले पनि सरकार कोरोना नियन्त्रणमा लागिरहेको छ।’ प्रधानमन्त्रीले भन्नुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा राजनीतिक सहमति बन्न नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । संविधान आवश्यकताको आधारमा संशोधन हुनसक्ने समेत उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्