सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार

काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ ।
सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार उक्त रकम अनुदान दिने भनेर प्रारम्भिक मस्यौदा प्राप्त भएको छ । ‘त्यसमा राय सुझाव दिनुपर्ने हुन्छ । अहिले मन्त्रालयले सुझावका लागि मन्त्रालयले सोधेकोमा राय लेख्दै छौँ,’ उनले भने ।




हालको मूल्यअनुसार उक्त जापानी येन बराबर २ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ बराबर हुन्छ । अब जाइकाले पठाएको मस्यौदामाथि विभागले राय पठाएपछि रकमबारे टुङ्गो लाग्ने अर्यालले बताए ।
गत असोजमा आएको बाढी पहिरोले राजमार्गको २९.५ किलोमिटर सडकमा क्षति पुगेको छ । यो सडकमा करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबर बजेटको स्रोत सुनिश्चित गरिएको छ ।
यो सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माणका लागि चार वटा प्याकेज छुट्याई ठेक्का आह्वान भइसकेको छ । सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरिएको छ ।
सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । तीनवटै ठेक्कामा निर्माण व्यवसायीले आवेदन गरिसकेका र छनोटका क्रममा छ ।
दुई वटा प्याकेजमा ११/११ आवेदन प्राप्त
गत फागुन २८ गते पहिलो प्याकेज, सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको थियो । जसको लम्बाइ करिब पाँच किलोमिटर छ । यसमा ११ वटा निर्माण कम्पनीले आवेदन दिएका छन् । दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको थियो । यस ठेक्कामा ११ वटा निर्माण कम्पनीले ठेक्का प्राप्तिका लागि आवेदन दिएका छन् ।
चारसय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । यसमा ८ वटा निर्माण कम्पनीले ठेक्का आह्वान गरेका छन् ।
डालाबेसीदेखि बर्खेखोला जाइकाले डिजाइन गर्दै
बाँकी साढे ५ किलोमिटर सडक जाइकाले डिजाइन गरिरहेको छ । डालाबेसीदेखि बर्खेखोलासम्मको करिब साढे ५ किलोमिटर दूरीको अन्तिम प्याकेज हो । यसअघि जाइकाले निर्माण गरेको राजमार्ग भएकाले सरकारले कूटनीतिक सम्बन्धलाई सुमधुर राख्नुपर्ने भन्दै यो प्याकेज पुनर्निर्माणका लागि जाइकालाई छुट्याइदिएको थियो ।
जाइकाले निर्माण गरिदिएको र यसअघिको भूकम्पबाट भएको क्षतिमा पनि पुनर्निर्माण गरिदिएकाले यो पटकको बाढी पहिरोले पुर्याएको क्षतिमा पनि सरकारले आस गरेको थियो ।
नेपालका पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने मुख्य राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग करिब १० वर्ष लगाएर सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।
२०७२ को भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । यस पटक बाढी–पहिरोले क्षतिग्रस्त भएको यो राजमार्ग पुनर्निर्माणको कार्य सरकार आफैँले गर्ने कि जापानले नै सहयोग गर्ने भन्ने विषयमा अन्योल छ ।
जाइकाले निर्माण गरिदिएको र यसअघिको भूकम्पबाट भएको क्षतिमा पनि पुनर्निर्माण गरिदिएकाले यो पटकको बाढी पहिरोले पुर्याएको क्षतिमा पनि सरकारले आस गरेको थियो ।
त्यसैले तत्काल पुनर्निर्माणका लागि कदम चालेको थिएन । पटक–पटक जाइकासँग पुनर्निर्माणबारे छलफल गरिरह्यो । जाइकाले यो राजमार्ग पुनर्निर्माणका लागि कुनै ठोस निर्णय नदिएपछि फागुन अन्तिममा ठेक्का आह्वान गरेको थियो । अहिले आएर भने जाइका कुल लागतको एकतिहाइ रकम अनुदान दिन तयार देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्