सयौँ युवाको सफलताको सारथी “कोथिना मिठो छ”

फ्रन्टलाइन, काठमाडौँ । सामान्यतया कुनै पनि पेशा व्यवसाय आर्थिक उपार्जन र मुनाफा लक्षित भएर स्थापना र संचालन हुन्छन् । हरेक किसिमका पेशा व्यवसायका आ आफ्नै सामाजिक उत्तरदायित्व हुने गर्छन । पर्यटन क्षेत्र नेपालको समृद्धिको सबैभन्दा बलियो आधार हो । पर्यटनलाई प्रवद्र्धन गर्छ होटल व्यवसायले । काठमाडौँको लाजिम्पाटमा अवस्थित कोथिना मिठो छ, होटल सम्बन्धि प्रशिक्षण समेत प्रदान गर्दैै आएको एउटा व्यवसायिक संस्था हो । जसले आर्थिक मुनाफा भन्दा बढि सामाजिक उत्तरदायित्व बहनलाई विशेष जोड दिँदै आएको छ ।
विशेष गरि युवा एवम् विद्यार्थीहरुलाई होटल सम्बद्ध विभिन्न किसिमका प्रशिक्षण प्रदान गरि आत्मनिर्भर बन्न प्रेरित गर्दै आएको कोथिना मिठो छ ले स्वदेश तथा विदेशका विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा प्रशिक्षण तथा रोजगारीको अवसर प्रदान गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि संचालित तालिममा सहभागि भई दक्ष जनशक्तीका रुपमा निर्माण भएका विभिन्न ६६ जना युवा विद्यार्थीहरुलाई हालै एक समारोहका बिच प्रमाणपत्र वितरण गरिएको छ ।
ति ६६ जना विद्यार्थीहरु मध्ये २० जनालाई एसोशियसन अफ काम्पोबासे नामक इटालियन संस्थाको सहयोगमा पुर्ण छात्रवृत्ति प्रदान गरिएको थियो भने बाँकी विद्यार्थीहरुलाई आंशिक छात्रवृत्ति प्रदान गरिएको थियो । पुर्ण छात्रवृत्ति प्राप्त गर्नेमा अधिकांश विद्यार्थी गोरखाको धारचे गाउँपालिकाका थिए भने अन्य विद्यार्थी देशका विभिन्न जिल्लाका रहेका थिए ।
कोथिना मिठो छ ले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले संचालन गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक रुपमा विपन्न, पिछडिएका र अपांगता भएकाहरुलाई अझ बढि प्राथमिकतामा राखिने पनि जनाएको छ ।
कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै प्रमुख अतिथिका रुपमा रहनुभएका होटल एसोसियशन अफ नेपाल (HAN) का सिइओ टेक बहादुर महतले कार्यक्रमको प्रशंसा गर्नुभयो भने यस्ता किसिमका तालिमहरु बढिभन्दा बढि युवाहरुलाई दिनुपर्ने पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागि अतिथि फण्ड प्रोजेक्टका डाइरेक्टर चिरञ्जिवी शर्माले अपांगता भएका युवाहरुलाई पनि यस किसिमका तालिमहरुमा समेट्नुपर्नेमा जोड दिनुभयो । फण्ड प्रोजेक्टले कोथिना मिठो छ संगको सहकार्यमा हालसम्म ७० भन्दा बढि युवाहरुलाई तालिम प्रदान गरि ४० जनालाई रोजगारीको अवसर समेत सिर्जना गरिसकेको छ ।
कार्यक्रममा आफ्ना धारणा राख्दै कोथिना मिठो छ का प्रबन्ध निर्देशक देवेन्द्र पोखरेलले धेरै भन्दा धेरै युवालाई यस किसिमको तालिम दिन सके रोजगारीको अवसर सिर्जना भई समग्र मुलुककै आर्थिक उन्नतीमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले आगामि दिनहरुमा पनि यस्ता व्यवसायिक तालिमहरुलाई निरन्तरता दिन विभिन्न संघसंस्था हरुसंग सहकार्य गरिने उल्लेख गर्नुभयो ।
स्थापना कालदेखि हालसम्म कोथिना मिठो छ को सक्रियता र विभिन्न संघसंस्था हरुको सहकार्य र सहयोगमा ५ हजार भन्दा बढि युवाहरुले तालिम प्राप्त भई देश विदेशमा सिप अनुसारको रोजगारीको अवसर प्राप्त गरि काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here