समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशनको तयारी तीव्र—रौतहटमा प्रतिनिधि छनौट तथा तयारी बैठक आह्वान

मेवालाल यादव




समाजवादी महिला संघ, नेपालले आफ्नो बहुप्रतीक्षित राष्ट्रिय महाधिवेशन यही २०८२ साल बैशाख २६ र २७ गते गर्ने निर्णय गरेसँगै त्यसको तयारी तीव्र पारिएको छ। महाधिवेशनलाई सफल बनाउने उद्देश्यले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समिति रौतहटले महत्त्वपूर्ण बैठक बोलाएको छ।
बैठक यही मिति २०८२ बैशाख २२ गते सोमबारका दिन दिउँसो १ बजे पार्टी कार्यालय गौरमा आयोजना हुने तय भएको छ। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट, संगठनात्मक संरचना सुदृढीकरण, महिलाको नेतृत्व विकास, तथा पार्टीको भावी रणनीति सम्बन्धी विषयमा गम्भीर छलफल हुने जिल्ला अध्यक्ष यादवले बताए ।
जिल्ला अध्यक्ष राजीव रंजन यादवद्वारा जारी विज्ञप्तिमा जसपा नेपाल रौतहट अन्तर्गतका सबै केन्द्रीय र प्रदेश स्तरका पदाधिकारीहरू, सदस्यहरू, जिल्ला पदाधिकारीहरू तथा नगर अध्यक्षहरूलाई बैठकमा समयमै उपस्थित हुन विशेष अनुरोध गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “महाधिवेशन प्रतिनिधि छनौट केवल औपचारिक प्रक्रिया मात्र होइन, यो पार्टीको भावी नेतृत्व निर्माण र राजनीतिक दिशाको निर्धारणसँग समेत गहिरो सम्बन्ध राख्दछ। त्यसैले यसलाई गम्भीर रूपमा लिई बैठकमा सक्रिय सहभागिता आवश्यक यादवले बताएका छन् ।
रौतहट जिल्लाले विगतमा पार्टीभित्र महिला नेतृत्वको सशक्त उपस्थिति र सामाजिक रूपान्तरणका सवालमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएको छ। यही सन्दर्भमा, समाजवादी महिला संघको महाधिवेशनले पनि नयाँ उत्साह, जोश र राजनीतिक दृष्टिकोण विकास गर्ने विश्वास गरिएको छ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, सहभागीहरूको तयारी, स्थानीय सञ्जाल सुदृढीकरण, महिला सहभागिता विस्तार लगायतका विविध विषयमा कार्ययोजना तय हुने अपेक्षा गरिएको छ। साथै बैठकपछि प्रतिनिधिको अन्तिम नामावली केन्द्रमा पठाइने र महाधिवेशनको तयारीलाई संस्थागत रूप दिइने योजना रहेको जिल्ला अध्यक्ष यादवले बताइएको छ।
जसपा रौतहटका नेताहरूले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिने तयारी गरेका छन्। राजनीतिक स्थायित्व, समावेशीता, लैंगिक समानता र संघीयताको पक्षमा पार्टीको दीर्घकालीन अडान पुनः पुष्टि गर्ने अवसर पनि महाधिवेशनले दिने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्