समयमा पाएनन् लाभग्राहीले सामाजिक सुरक्षा भत्ता
पर्सागढी नगरपालिका र धोबिनी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता समयमा वितरण नहुँदा सेवाग्राहीहरू मारमा परेका छन् ।
पर्सागढी नगरपालिकालिका र धोबिनी गाउँपालिकाका लाभग्राहीले पुस मसान्तमा पाइसक्नुपर्ने भत्ता नेपाल सरकारले विद्युतीय भुक्तानी प्रणाली (इएफटी) अनिवार्य गरेपछि ढिलाइ भएको हो । चालू आव २०८०/८१ को दोस्रो किस्ता अर्थात् कात्तिक, मङ्सिर र पुस महिनाको सामाजिक सुरक्षा भत्ता माघ महिनाको दोस्रो सातासम्म वितरण हुन सकेको छैन । एकल महिला, वृद्धवृद्धा, अपाङ्ग र दलित बाल संरक्षण भत्ता वितरण हुन नसकेको हो ।
धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानका अनुसार गत असोजमा नेपाल सरकारले इएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति अनिवार्य गरेपछि आन्तरिक अपडेटको कामले ढिलाइ भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयमा भुक्तानी आदेश आजै पठाइने गरी काम भइरहेको हुँदा छिटै भुक्तानी हुने उनको विश्वास छ ।
इएफटी प्रणालीमा कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले प्रत्यक्षरूपमा सेवाग्राहीको खातामा रकम पठाउने गर्छ । यस प्रणालीमा भत्ता रकम पालिकाको खातामा नआउने र पालिकाले भत्ता रकम पठाउनु नपर्ने व्यवस्था छ ।
पर्सागढी नगरपालिकाका पञ्जिकरण शाखाप्रमुख मनोज राउत थारूकाअनुसार नगरपालिकाभरिका करिब ३ हजार ४०० लाभग्राहीमध्ये ८१ जना सेवाग्राहीको बैंक खातासमेत नभएको हुँदा वडामार्फत ताकेता गरिसकिएको छ ।
सरकारले गत असोजमा इएफटी अनिवार्य गरेपछि सबैक लाभाग्राहरीको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण(केवाइसी) अपडेटमा समय लागेको हुँदा केही हप्ता ढिलो भएको पञ्जिकरण शाखाप्रमुख थारु बताउछन् । उनका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गत पुस २६ गतेमात्र तालिम प्रदान गरेको थियो ।
हाल दुवै स्थानीय तहले केवाइसी अपडेटको काम सम्पन्न गरी कोष तथा लेखा नियन्त्रण कार्यालयमा भुक्तानी आदेश पठाइन लागेको बताएका छन् । अब केहीदिन भित्रै लाभग्राहीले दोस्रो किस्ताबापतको रकम पाउने गरी काम भइरहेको सम्बन्धित शाखाका कर्मचारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्