सबै वडामा स्वास्थ्य संस्थाः स्थानीयवासी उत्साहित
– टेकराज पोखरेल
नवलपुर, ६ असोज (रासस)ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी नौवटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नं २, ४, १०, १४ र १५ मा स्वास्थ्य चौकी तथा वडा नं ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य संस्थाका लागि भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो ।
नगरपालिकाले सबै नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन भन्दै यसअगाडि नै सबै वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई नियुक्ति गरिसकेको रानाले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७७÷७८ को चैत २५ गते नौ महिनामा निर्माणसम्पन्न गर्नेगरी नौवटा वडाको भवन निर्माणका लागि चितवनको भरतपुरस्थित न्यौपाने मल्टिप्रपोज कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । नगरपालिकाले प्रतिभवन रु ४३ लाख २४ हजार ८९५ नबढ्ने गरी ठेक्का सम्झौता आह्वान गरेकामा न्यौपाने मल्टिप्रपोजले प्रतिभवन रु २४ देखि २७ लाखसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरेको छ ।
नगरपालिकाभित्र स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख रानाले बताउनुभयो । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने तयारीमा नगरपालिका जुटेको भन्दै नगरप्रमुख रानाले नवलपुर स्वास्थ्य चौकी र नयाँबेलाहनी स्वास्थ्य चौकीमा ल्याबसहितको भवनको स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिनुभयो ।
नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा औषधि र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ण रुपमा पूर्ति भइसकेको नगरप्रमुख रानाको भनाइ छ । नगरपालिकाको तीनवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा छन् । सहयात्री कप फुटबल हुँदै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ मा संरक्षणका लागि फुटबल प्रतियोगिता हुने भएको छ ।
सङ्कटापन्न अवस्थाका घडियाल गोही तथा एक सिङ्गे गैँडा संरक्षणमा योगदान पु¥याउन भन्दै प्रथम सहयात्री कप खुला नकआउट फुटबल प्रतियोगिता–२०७८ को आयोजना गरिएको हो । मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्मदीप सहयात्री क्लबको आयोजनामा आगामी असोज १० गतेदेखि फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष भानुभक्त पौडेलले जानकारी दिनुभयो ।
दसैँका अवसर पारेर सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताबाट नारायणी नदीमा पाइने सङ्कटापन्न अवस्थाका घडियाल गोही र दुर्लभ एक सिङ्गे गैँडा संरक्षणको सन्देश दिइने अध्यक्ष पौडेलले बताउनुभयो । प्रतियोगितामा चितवनदेखि रुपन्देहीसम्मका करिब ३० वटा फुटबल क्लबहरुले सहभागिता जनाउने पौडेलको भनाइ छ ।
प्रतियोगितामा पहिलो हुने क्लबले उपाधिसँगै रु ४० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने खेल संयोजक लब पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको उपविजेताले रु २० हजार पाउने भन्दै पौडेलले प्रतियोगिता अवधिको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रतियोगिताबाट बचत भएको आम्दानीको केही प्रतिशत रकम संरक्षणसम्बन्धी कार्यक्रममा खर्च गरिने खेल संयोजक पौडेलको भनाइ छ । –––Powered By Orson Infotech
प्रतिक्रिया दिनुहोस्