सप्तरीको रुपनी –५ बसविट्टीको स्थगित निर्वाचन सोमबार
३१ वैशाख, राजविराज । मतदानका क्रममा शुक्रबार राति हवाइ फायर पछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन सोमबार हुने भएको छ।
रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बसेको सर्वदलिय बैठकले स्थगित मतदान सोमबार बिहान ७ बजेदेखि ५ बजेसम्म गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, निर्वाचन अधिकृत कुमार मास्के, गणपति दुर्गाबहादुर थापा, एसपी अविनारायण काफ्ले, सशस्त्र एसपी प्रदिप खडका, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश साहलगायतको उपस्थितीमा बसेको सर्वदलीय वैठकमा उक्त सहमति भएको हो।
राजनीतिक दलका प्रतिनिधी र उम्मेदवारहरुको सहमतिपश्चात सोमबार निर्वाचन हुने तय भएको निर्वाचन अधिकृत मास्केले बताए।
शुक्रबार अपरान्ह सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सुचारु भएको केहीबेरमा साँझ साढे ६ बजे दुई पक्षबीच झडप भएपछि उत्तेजित भिंडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको थियो।
हवाइ फायरले मतदाताहरु तितरबितर भएपछि मतदान गर्न पाउने अवस्थाबाट मतदाता वञ्चित भएको भन्दै शुक्रबार मध्यराति निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो।
दलहरुबीच सहमति कायम हुन नसक्दा मतदान कार्यलाई व्यवस्थित ढंगले अघि बढाउन नसकिएकोले स्थगित गर्नुपरेको निर्वाचन दलहरुकै सहमतिमा सोमबार गर्न लागिएको अधिकृत मास्केले बताए।
यसअघि शुक्रबार दिउँसो स्थगित भएको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहाको निर्वाचन आइतबार हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्