सन्दीप प्रकरण : महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

१५ माघ, काठमाडौं । नाबालिग बलात्कारको मुद्दामा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गरी थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने गरेको छ।

उच्च अदालतको पुस २८ गतेको आदेशले छुटेका लामिछानेलाई फेरि पुर्पक्षकै लागि थुनामा राख्न माग गर्दै भोलि (सोमबार) सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।

frontline

‘‘ढिलोमा भोलि (सोमबार) सम्म सर्वोच्चमा हाम्रो निवेदन दर्ता भइसक्छ,’’ उनले भने।

धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध बिहीबार भएको सर्वोच्च जाने निर्णय अनुसार सोमबार जाने तयारी भएको रेग्मीले बताए।  २० लाख धरौटीमा छाड्ने गरी अदालतले आदेश दिएपछि सन्दीप छुटेका छन्।

सामान्यतया गम्भीर प्रकृतिका अपराधमा पनि थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्ने गर्छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणले कसुर भएको देखियो भने अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने कानुन छ।

तीन वर्षभन्दा कम सजाय पाउने कसुरमा आरोप लागेकालाई कसुरको प्रकृति हेरेर धरौटीमा छाड्ने गरिएको छ। सन्दीपको आदेशमा भने प्राप्त प्रमाण हेर्दा थुनामा राख्नैपर्ने अनिवार्य अवस्था देखिएको उच्च सरकारी वकिल कार्यालयको दाबी छ।

५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध २१ भदौमा जाहेरी परेको थियो। त्यस बेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए। क्यारेबियन लिग छाडेर लामिछाने स्वदेश फर्किए। स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

१४ कात्तिकमा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध मुद्दा दायर भयो। १६ कात्तिकमा थुनछेक बहस सुरु भएको थियो। कात्तिक १८ मा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठायो।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। पक्राउ परेको १ सय दिनपछि उनी २८ पुसमा छुटेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here