सधैं एक्टिभ रहन चाहनुहुन्छ ? खानुस् बिहानै यी घरेलु एनर्जी ड्रिङ्क्स

काठमाडौँ,साउन २१: नेपालीहरू चिया र कफीका सौखिन धेरै छन् । अधिकांशले हरेक दिनको सुरुवात चिया वा कफीको साथमा गर्छन् । तर खाली पेटमा क्याफिनको सेवनले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । 

यसले व्यक्तिको ऊर्जामा पनि असर पर्न सक्छ । यस्तो अवस्थामा बिहान उठ्ने बित्तिकै के खाने त ? स्वस्थ रहन दिनको सुरुवात केबाट गर्ने त ? यो प्रश्न धेरैको मनमा आउन सक्छ ।

frontline

दिनभर सक्रिय रहन स्वस्थ घरेलु पेय पदार्थ सेवन गर्नुपर्छ भनेर विज्ञहरू भन्छन् । पौष्टिक तत्त्वहरूले भरिपूर्ण यी पेयहरूले वर्षाको समयमा हामीलाई ताजा र हाइड्रेटेड राख्न मद्दत गर्छ । यसले दिनभर सक्रिय रहन पनि सघाउँछ । तपाई पनि दिनभर ऊर्जावान् रहन चाहनु हुन्छ भने घरमै बनाएर यी एनर्जी ड्रिङ्क्स पिउन सक्नु हुन्छ ।

  • अमलाको जुसः

स्वादमा अमिलो हुने अमलाको जुस हरेक मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन उत्कृष्ट विकल्प हो । अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यसले छाला र कपाललाई धेरै फाइदा पुर्‍याउँछ । मन पर्छ भने अमलाको जुसमा काँक्रो, ज्वानु र अदुवा मिसाएर पनि पिउन सकिन्छ ।

  • गाजरको जुसः

आफूलाई दिनभर सक्रिय राख्न गाजरको जुस अर्को राम्रो विकल्प हो । यसबाट पोटासियम र भिटामिन सी त पाइन्छ नै प्रोभिटामिन ए पनि प्रशस्त मात्रामा पाइन्छ । गाजरको जुस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने यसले आँखा र छालाको स्वास्थ्यमा पनि निकै फाइदा पुर्‍याउँछ ।

  • स्याउको जुस

सक्रिय रहन स्याउको जुस अर्को राम्रो विकल्प हो । स्याउ र यसको जुसमा भिटामिन फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । स्याउमा पाइने फाइबरले पेटको स्वास्थ्यमा सुधार गर्छ ।

  • सुन्तलाको जुस

विज्ञहरूका अनुसार भिटामिन सीले भरपुर सुन्तलाको जुसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने क्षमता हुन्छ । वास्तवमा यो जुस प्राकृतिक एनर्जी बूस्टरको रूपमा काम गर्दछ । यसको सेवनले तपाईं कयौँ घण्टासम्म तरोताजा महसुस गर्न सक्नु । यसलाई घरमा सजिलै तयार पारेर पिउन सकिन्छ ।

  • कागती पानी

गर्मी मात्रै होइन वर्षायाममा पनि कागती पानी पिउन सकिन्छ । कागतीमा पाइने भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मन पर्छ भने यो जुसमा पुदिनाको पात र थोरै मह मिसाएर पनि खान सकिन्छ ।

यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here