सत्ता गठबन्धन बैठक बालुवाटारमा जारी
१९ पुस, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ। आसन्न राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक सोमबार बिहान साढे १० बजेदेखि बालुवाटारमा जारी रहेको प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको निर्वाचन आयोगको कार्यतालिका रहेको छ। उम्मेदवारी दिने समय नजिकिएपनि गठबन्धनभित्र कुनै छलफल भएको थिएन।
सोमबारको बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलबीच कसरी अगाडि बढ्ने र कसले कति सिट पाउने भन्ने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
२० सांसद चार वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेकाले उम्मेदवारको भागबण्डा गर्न बैठक बसेको हो।
संघीय संसद् सचिवालयका अनुसार एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका ४–४ गरी १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुँदैछ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक जना सांसद्को पनि अवधि सकिन लागेको छ। उनीहरुको फागुन २१ कार्यकाल समाप्त हुँदैछ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन्। प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध गठबन्धन गरेरै उनीहरु निर्वाचनमा जाने तयारी गरेका छन्।
प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ। वि.सं. २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो।
स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुन्छ।
प्रतिक्रिया दिनुहोस्