सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै

मंगलबार, काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक मंगलबार पनि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने तयारी छ।

कार्यदलका एक सदस्यका अनुसार मंगलबारको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल हुनेछ। सोमबार बिहानको बैठकमा छलफलले मूर्तरुप लिन सकेको थिएन।

frontline

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ।

कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्।

बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ। 

सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन्।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here