सडकको खाल्डोमा अस्ताए रितिक र रितेश, घटना सामसुम पार्ने प्रयास

सडक बनाउन भनेर खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएपछि धनुषाको सराबेटोल शोकमा छ । ठेकेदार र जनप्रतिनिधिको गैरजिम्मेवार अभिव्यक्तिले गल्ती ढाकछोप गर्न खोजेको आशंका छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • धनुषाको कमला नगरपालिका २ सराबेटोलमा दुई बालकको डुबेर मृत्यु भएपछि परिवार र गाउँ शोकमा परेका छन्।
  • घटना निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा दुई बालक डुबेका थिए, जसको पोस्टमार्टम भइरहेको छ।
  • स्थानीय निकाय र ठेकेदारले घटनाको मिलान गर्न प्रयास गरिरहेका छन्, तर जिम्मेवारी स्पष्ट छैन।

९ जेठ, जनकपुरधाम । धनुषाको कमला नगरपालिका २ सराबेटोलमा दुईदिनदेखि सन्नाटा छ । स्थानीय चन्देश्वर साहकी जेठी बुहारी रिंकु घरघरी मुर्छा पर्छिन् । चन्देश्वरकी श्रीमती कोशिला घरघरी दुई नाति सम्झेर भक्कानिन्छिन् । रुँदारुँदै उनको घाँटी बसेको छ ।

गत मंगलबार दिउँसो करिब ४ बजेतिर घरभन्दा ५० मिटर पर निर्माणाधीन कृषि सडकका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएदेखि नै साह परिवार विक्षिप्त छ ।

सराबे टोलका रामहरिबाबु साहका ७ वर्षीय छोरा रितिक र रामहरिका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितेश साहको ज्यान गएको थियो ।

दिउँसो साढे ३ बजेतिर दुई नाती र हजुरआमा घरमा थिए । नातीहरु रितिक र रितेश मोबाइल हेरेर घरमै बसिरहेका थिए । बिजुली गएपछि वाईफाई चल्न छोड्यो । उनीहरु खेल्दै घर पछाडिको गल्लीको बाटोबाट निस्के । हजुरआमा कोशिलाले नातीहरु घर बाहिर गएको थाहा पाइनन् । थाहा पाएपछि आफैं खोज्न थालिन् ।

त्यसको करिब आधा घण्टामा घरभन्दा पर निर्माणाधीन सडक छेउको खाल्डोमा जमेको पानीमा रितेशको शव तैरिरहेको एक महिलाले देखिन् । उनले जानकारी गराएपछि गाउँलेहरुले शव निकाले ।

त्यतिन्जेल रितिक भेटिएका थिएनन् । उनी पनि त्यही खाल्डोमा डुबेको हुन सक्ने अनुमान सहित खोज्दा रितिकको शव पनि त्यही खाल्डोमा फेला पर्यो । त्यसयता परिवारका सदस्य र सराबे टोलबासी शोकमा छन् ।

परिवारका सदस्यहरुलाई केही आर्थिक सहयोग गर्ने आश्वासन दिँदै बाटो बनाउने नाममा जथाभावी खन्ने ठेकेदार र जनप्रतिनिधिलाई जोगाउने प्रयास भइरहेको केही स्थानीयले बताए ।

हजुरआमा कोशिला घरीघरी त्यही पल सम्झिदै भक्कानिन्छन् । अधीर हुन्छिन् । बिहीबार बिहान साढे ९ बजेतिर अनलाइनखबरकर्मी पुग्दा हजुरआमा घाँटी बसेको स्वरमा भक्कानिँदै घटना विवरण सुनाइन् । ‘हम घरअगाडि दुहाइर पर बैसल रही । दुनु पोता घरमे मोबाइल लक खेलैत रहे । लाइन कटिते दुनु पोता घर से पछाडि दक निकलल से नै बुझ सकली । आधा घण्टामे दुनु बौवा पानीमे डुइबक भगवान ल चैलगेल,’ उनले आफ्नै भाषामा भनिन् ।

हजुरआमाले नै दुई छोराका छोरा (नाती)हरुको नाम रितिक र रितेश राखिदिएकी थिइन् । रितिक घरमै हजुरबुबा र हजुरआमासँग बसेर गाउँकै सामुदायिक विद्यालयमा कक्षा २ मा पढ्दै थिए । रितेश केहीदिनअघि मात्र दिल्लीबाट ठूलीआमा रिंकुसँग घर फर्केका थिए । रितिक र रितेश दुबैका आमाबुबा दिल्लीमै बसेर मजदुरी गर्छन् ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले सन्तान खुसीको सपना बोकेर मजदुरीमा गएका थिए अभिभावक । उनीहरुको सपना घर नजिकैको खाल्डोमा अस्ताउँदा बज्रपात परेको छ ।

अनलाइनखबर उनीहरुको घरमा पुग्दा छोरा रितिकका बुवा रामहरि साह, रितेशका बुबा श्यामबाबु अनि आमा पार्वती घर आइपुगेका थिएनन् । छोरा–बुहारीहरु दिल्लीबाट घर आउँदै गरेको आमा कोशिलाले सुनाइन् ।

घटनाको बेलादेखि घरपरिवार मात्र होइन, गाउँले नै टोल नै शोक डुबेको छ । तर वडा नम्बर २ का वडाध्यक्ष ठाक्कु यादव, ठेकेदार राजेन्द्र मण्डल लगायतले घटना मिलाउन प्रयासमा छन् । हामी पुग्दा केही स्थानीयले घटना ‘मिलिसकेको’ भन्दै यो घटनालाई मिडियामा नलैजान आग्रह गरेका थिए । परिवारका सदस्यहरु पनि केहीबेरसम्म खुलेर बोल्न मानेका थिएनन् ।

परिवारका सदस्यहरुलाई केही आर्थिक सहयोग गर्ने आश्वासन दिँदै बाटो बनाउने नाममा जथाभावी खन्ने ठेकेदार र जनप्रतिनिधिलाई जोगाउने प्रयास भइरहेको केही स्थानीयले बताए ।

दुबै बालकको बिहीबार प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए ।

गाउँको पानीको निकास रहेको गहिरो पैनीको माथि पूर्व किनारबाट केहीदिन अघिदेखि उत्तर–दक्षिण गरी तीन सय मिटर लामो कृषि बाटो बनाउने काम चलिरहेको थियो । पूर्वछेउबाट करिब दुई मिटर चौडा र ४–५ फिट गहिरो जमिन खनेर निर्माणाधीन बाटोमा माटो हालिएको छ । उत्तर तर्फ बाटो कतै जोडिएको छैन ।

यो कमला नगरपालिकाको वडास्तरीय योजना हो । कमला नगरपालिकाका सूचना अधिकारी विरेन्द्र सढानका अनुसार १० लाखको सो योजना वडा नम्बर २ को रहेको र सडक बनाउने काम चलिरहेको बताए । तर उनले अझै विस्तृतमा आफूलाई जानकारी नभएको भन्दै बताउन चाहेनन् ।

बोल्न चाहँदैनन् वडाध्यक्ष र ठेकेदार

स्रोतका अनुसार कोटेशन मार्फत जयबाबा नर्सिङ् कन्स्ट्रक्सनलाई बाटो बनाउने जिम्मा पालिकाले दिएको छ । सो कन्स्ट्रक्सनबाट बाटो बनाउने काम स्थानीय राजेन्द्र मण्डलले गरिरहेका छन् । योजना हेर्ने जिम्मा नगरपालिकाका इन्जिनियर रामकुमार यादव र ओभरसियर अमित साहको छ ।

सम्झौतामा छेउबाट माटो खन्न नपाउने उल्लेख छ । तर गहिरो खाल्डो खनिएको छ । त्यही जोखिमयुक्त खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

तर वडाध्यक्ष ठक्कु यादव र पालिकाका इन्जिनियर रामकुमार यादव यसबारे बोल्न मानेनन् ।

अनलाइनखबरले घटनाबारे सोधखोज गर्दा वडाध्यक्ष यादव आक्रोशित भए । ‘को ठेकेदार हो, के हो मलाई कागज हेर्नुपर्छ,’ उनले आक्रोशित हुँदै भने, ‘बालक डुबेकोमा हामी पनि शोकमा छौं तर डुबेको भन्दा ठूलो गहिरो पैनी त्यही छेउमा छ, आएर हेर्नुस् ।’ उनले ‘थप कुरा गर्नुपरे भेटेर गर्नुस्’ भन्दै फोन काटे ।

इन्जिनियर यादवले त योजना पालिकाको नरहेको भन्न भ्याए । ‘यो योजना पालिकाको होइन । कहाँको हो थाहा भएन । बुझ्नै पर्छ,’ उनले भने ।

कमला नगरपालिका |धनुषा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here