श्रीमानले बाँकी रकम भुक्तानी नपाएसम्म पालिकाबाट कसैलाई पनि भुक्तानी नदिन आदेश

२१ असार, दैलेख । स्थानीय तहको निर्वाचनअघि जिल्लाको भैरबी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी रीताकुमारी शाहीले मतदातासमक्ष तमसुकमा सहिछाप गरिन्।

गाउँपालिकाको अध्यक्षमा शाही नै निर्वाचित भइन्। निर्वाचित भएपछि उनले मतदातासँग गरेको जनकरारपत्र अर्थात् तमसुक कार्यकक्षमै राखिन्।

frontline

तमसुकमा दोस्रो बुँदामा भनिएको छ, ‘म आफ्नो कार्यकालभरी नातावाद, कृपावाद र व्यक्तिगत स्वार्थलाई आफू र आफ्नो पदीय अधिकारभन्दा धेरै टाढा राखेर निस्वार्थरुपमा जनताको सेवामा खटिनेछु।’

मतदातासँग गरेको तमसुकमा उल्लेख भएको यही बुँदाको ठीक विपरित गाउँपालिका अध्यक्ष शाहीले आफ्नो पतिले गरेको कामको भुक्तानी नपाउन्जेल गाउँपालिकाबाट सबै भुक्तानी रोक्न उर्दी जारी गरेकी छन्। उनका पति बखतबहादुर शाहीले गाउँपालिकाको प्रिफ्याव भवन निर्माण गरेका थिए।

अध्यक्षका पति शाहीले आर्थिक वर्ष २०७५-०७६ मा मालिका कन्ट्रक्सनको नामबाट ५४ दिनमा काम सक्नेगरी गाउँपालिकाको प्रिफ्याव भवन निर्माण गर्न ८८ लाखमा सम्झौता गरेका थिए। ५४ दिनमा सक्नुपर्ने भवन निर्माणको कामले चार वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन। कन्ट्रक्सनलाई गाउँपालिकाबाट १५ लाख रुपैयाँ दिइसकिएको छ।

गाउँपालिका अध्यक्ष शाहीले सोमबार श्रीमानले गरेको कामको भुक्तानी नभएसम्म अन्य भुक्तानीसमेत रोक्न प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई उर्दी जारी गरेकी हुन्।

अध्यक्ष शाहीले आफ्ना श्रीमानको बाँकी रकम भुक्तानी दिन नसक्ने भए पालिकाबाट कसैलाई पनि एक रुपैयाँ भुक्तानी नदिन भन्दै आदेश दिएकी छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकलाई आज असार २१ गतेबाट हाजिरी नगर्नसमेत अध्यक्ष शाहीले आदेश दिएकी छन्।

हाजिर नगर्न चेतावनीपछि प्रशासकीय अधिकृत विकले विदा मागेका थिए। जसका कारण सोमबार गाउँपालिकाबाट हुने भुक्तानी लगायतका काम ठप्प भयो।

असार मसान्त सकिन ११ दिन बाँकी रहेका बेला पालिकामा अध्यक्ष शाहीको हस्तक्षेपले काम गरेका तर भुक्तानी नपाएका सर्वसाधारणहरु मर्कामा परेका छन्।

‘आर्थिक वर्ष २०७५-०७६ बाट सुरु भएको कामको फाइल खोजेर गाउँपालिकाको फ्रिफ्याव भवन निर्माणमा देखिएको समस्या समाधान गर्न खोजिरहेको थिएँ, अध्यक्षज्युले हाजिरी नगर्न भनेपछि विदामा बस्ने निर्णय गरेको हुँ।

राति उहाँका नजिकका व्यक्तिहरुले फोन गरेर धम्कीसमेत दिनुभयो,’ प्रमुख प्रशासकीय अधिकृत विकले भने। उनले गाउँपालिका अध्यक्षले कार्यालयमा आउनुहोस्, थप छलफल गरेर समस्या समाधान गरौँला भनेपछि आज मंगलवार कार्यालयमा आएको जानकारी दिए।

भवन इस्टीमेटअनुसार नभएको, भवन निर्माणको सम्झौता एकातिर, ठेक्का कबोल अंक अर्कोतिर भएको, १३ महिनादेखि बैंक ग्यारेण्टी सकिएको र ऐन विपरित बारम्बार म्याद थप गर्दा पनि भवन सम्पन्न नहुँदै रकम भुक्तानी दिन अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकलाई दबाब दिएको गाउँपालिकाका एक कर्मचारीले बताए।

गाउँपालिका अध्यक्ष शाहीले यसअघिको सरकारको पालामा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायतका सम्पन्न भएका अन्य योजनाको यसै असार मसान्तमा रकम भुक्तानीको प्रक्रिया मिलाई निर्माण व्यवसायी तथा मजदुरहरुको पक्षमा उभिएको बताइन्।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा दोहोरो सम्झौता हुन गएका योजनाको विषयमा प्रश्नसहितको समस्या निरुपण गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रश्न सुझाव र निर्देशन दिएको उल्लेख छ।

उनले गाउँपालिकाबाट हुने सबै कामहरु निष्पक्ष र न्यायोचित ढंगले नियमितरुपमा सुरु गर्न प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here