श्रीमती हत्याको आरोपमा एकजना पक्राउ
२२ फागुन, जनकपुरधाम । श्रीमती हत्याको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अरम राउत पक्राउ परेका छन् ।
२३ वर्षका अमरले २२ वर्षकी पत्नी पूजा पोद्दारको हत्या गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका अमरलाई जिल्ला प्रहरी कार्यालय सिराहाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
उनीबिरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अमर र काठमाडौं महानगरपालिका–२० जैसीदेवलकी २२ बर्षीया पूजा पोद्दारबीच २७ माघमा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । प्रेम सम्बन्धपछि आफुखुशी विवाह गरेका उनीहरु विवाहपछि काठमाडौंको बाफलमा डेरामा बस्थे ।
प्रहरीका अनुसार उनीहरुको विवाहलाई अमरको परिवारले स्वीकार गरेको थिएन । अमर परिवारलाई मनाउन भन्दै घर गएका थिए ।
अमर काठमाडौं नफर्किएपछि १६ फागुनमा पूजा पनि सिरहा पुगेकी थिइन् । सिरहाको वस्तीपुर पुगेपछि उनले अमरलाई लिन बोलाएकी थिइन् ।
‘अमरले आफू बाहिर रहेको र साँझ लिन आउने बताएका थिए’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने, ‘साँझमा भेट्न पुगेका उनले पूजालाई कमला नदीको किनारमा लगी घाँटी थिचेर हत्या गरेका रहेछन् ।
घर आएका अमरको धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिकाकी एक युवतीसँग विवाह तय भएको थियो । ‘१९ फागुनमा तोकिएको विवाह पूजाको आगमनले असर पर्ने देखेर उनको हत्या गरेको देखिन्छ’ डीएसपी बुढाथोकीले भने ।
अमरले यसबारेमा साथीहरुसँग सल्लाह गरेर पूजाको हत्या गर्ने योजना बनाएको र वस्तीपुर चोकबाट कमला नदी किनारमा लगेको प्रहरीको भनाइ छ ।
पूजाको हत्यापछि अमरको १९ फागुनमा तोकिएको विवाह पनि भएन । ‘१७ फागुनमा उनको हत्या गरेर उनी फरार भएका थिए’ बुढाथोकीले भने, ‘हामी २० फागुनमै उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका थियौं ।’
मृतक पूजा र अमरको चिनजान सामाजिक सञ्जाल फेसबुकबाटै भएको थियो । अमर वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको बखत दुबैको चिनजान पूजासँग फेसबुकबाटै भएको थियो ।
‘एक बर्षदेखि दुबै जना नियमित सम्पर्कमा रहेको र अमर नेपाल फर्केपछि दुबै जना विवाह गर्न राजी भएका रहेछन्’ बूढाथोकीले भने, ‘१३ माघमा अमर नेपाल फर्केपछि दुबैले विवाह गरेका हुन् ।’
प्रतिक्रिया दिनुहोस्