श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

श्रोत : ईन्टरनेट

२३ कार्तिक, कपिलवस्तु । कपिलवस्तुमा आफ्नी श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

३५ वर्षीया चिन्का लोनियाको हत्या आरोपमा प्रहरीले महाराजगंज नगरपालिका वडा नम्बर ११ बाबा बनगाई बस्ने ४५ वर्षीय रामकेवल लोनियालाई पक्राउ गरेको हो। 

frontline

उनलाई प्रहरीले गत शुक्रबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। प्रहरीले यस घटनामा शव फेला पारेको भने होइन। 

प्रहरीले  गत असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा कंकाल फेला पारेको थियो। कंकाल फेला परेको भन्ने खबरपछि इलाका प्रहरी कार्यालय गोरूसिङेबाट प्रहरीको टोली खटिएको थियो।

कंकालमात्रै फेला परेको हुँदा शव तत्काल पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

घटनास्थलबाट हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडी लट्पटिएको शवको हड्डीका केही भाग फेला परेको थियो। 

प्रहरीले यस अनुसन्धानमा जिल्लामा हराएका महिलाहरूको खोजी गर्न थालेको थियो। त्यसैअनुसार चिन्का भदौ १५ गतेदेखि बेपत्ता रहेको खुल्यो। 

उनीसँगै उनका श्रीमान रामकेवल पनि बेपत्ता नै थिए। प्रहरीले दुबै जना हराएपछि थप अनुसन्धान गर्दै श्रीमानलाई खोज्न थालेको थियो।

यता मृतककी १८ वर्षीया छोरी पुनिताले कपडामार्फत् आमाको सनाखत गराएकी थिइन्।

‘हामीले कंकाल फेला पारेपछि महिला को हो भनेर खोज्यौं। खोज्दै जाँदा श्रीमान-श्रीमती दुबै हराएको फेला पारेपछि हामीले श्रीमानको पनि खोजी गर्न थालेका थियौं,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘श्रीमानले आफ्नी श्रीमती हराएको भनेर केही खबर नगरेपछि हामीलाई शंका लागेको थियो।’ 

खोजेपछि उनका श्रीमान रामकेवल नेपाल-भारतको सीमा क्षेत्रमा लुकेर बसेको अवस्थामा भेटिएको उनले बताए।

उनलाई फेला पारेपछि प्रहरीले बुद्धभूमि नगरपालिका-९ डुमराबाट कात्तिक १९ गते शुक्रबार पक्राउ गरेको हो। 

उनीमाथि सोधपुछ गर्दा आफ्नी श्रीमतीको हत्या स्वीकारेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार चिन्काले परपुरूषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर उनीहरूबीच झगडा भएको थियो। झगडापछि श्रीमान रामकेवलले हत्या गर्ने योजना गरी भदौ १५ गते जंगलमा काठ लिन जाने बहानामा जंगल लगेका थिए। 

जंगलमा लगेर हसियाँले हत्या गरी भारत भागेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here