शैक्षिक अवस्था कमजोर : जमिअत उलमा–ए नेपालद्वारा देशव्यापी ‘शैक्षिक जागरण अभियान’ सुरु

मेवालाल यादव

रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका स्थित अमन होटलको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा जमिअत उलमा–ए नेपालका अध्यक्ष मुफती, मौलाना मोहम्मद खालिद सिद्दिकीले नेपालमा मुस्लिम समुदायको शैक्षिक अवस्था चिन्ताजनक रहेको बताएका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका १६ जातीय समुदायमध्ये मुस्लिम समुदाय शैक्षिक सूचकांकमा १३औँ स्थानमा रहेको उल्लेख गरे। देशको समग्र शिक्षा दर ७२.२ प्रतिशत रहे पनि मुस्लिम समुदायको शिक्षा दर मात्र ६१.७ प्रतिशत रहेको उनले जानकारी दिए। विशेषगरी मुस्लिम महिलामध्ये करिब ५० प्रतिशत अझै शिक्षाबाट वञ्चित रहेको उनको भनाइ थियो।
उनले मधेस प्रदेशमा समग्र शिक्षा अवस्था कमजोर रहेको र त्यसमा पनि मुस्लिम समुदाय शिक्षा पहुँचबाट पछि परेको बताए। रौतहट जिल्ला शैक्षिक स्तरका दृष्टिले अझै पछाडि रहेको समेत उनले उल्लेख गरे।
शिक्षा क्षेत्र सुधारका लागि राज्य, शैक्षिक संस्था, नागरिक समाज तथा सरोकारवालाबाट प्रयास भइरहे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै जमिअत उलमा–ए नेपालले देशव्यापी “शैक्षिक जागरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

frontline


संस्थाद्वारा जारी निर्णयअनुसार उक्त अभियान २०८२ साल चैत १५ गतेदेखि २०८३ साल वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ। अभियानको मुख्य उद्देश्य शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक गुणस्तर सुधार, विद्यार्थी, अभिभावक तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यालय तथा मदरसाबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचभित्र ल्याउनु रहेको छ।
अभियान अन्तर्गत समुदायस्तरमा सचेतनामूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श तथा विद्यार्थी प्रेरणामूलक गतिविधिहरू सञ्चालन गरिने संस्थाले जनाएको छ।
जमिअत उलमा–ए नेपालले शिक्षा समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै अभियान सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, शैक्षिक संस्था, शिक्षक, अभिभावक, सामाजिक अगुवा तथा सम्बन्धित सबै पक्षसँग सहयोग, सहभागिता र समर्थनको अपिल गरेको छ।
उक्त पत्रकार सम्मेलनमा अध्यक्ष मुफती खालिद सिद्दिकी, महासचिव शमीम अख्तर, कोषाध्यक्ष ई. अब्दुल जब्बार, सचिव मौलाना इजराइल, केन्द्रीय सदस्य शेख असदुल्लाह, रफिक अनवर जानवा, मौलाना असलम, कारी शाहाबुद्दिन इरफानी मौलाना जउवाद, मौलाना साबिर लगायत दर्जनौ पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here