शिक्षकलाई कोरोना भएपछि एक साता विद्यालय बन्द
४ पुस, पाख्रिबास । पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।
विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।
विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए।
पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।
१० पुसपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए।
यता, पाख्रिबास नगरपालिकाले भने कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशङ्का लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्