शिक्षकका माग सम्बोधनका लागि गगन र विश्व सक्रिय, पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल

साेमबार पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका गगन र विश्वले सोही दिन साँझ शिक्षक आन्दोलनका अगुवाहरुसँग सामूहिक छलफल गरे । आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग पनि छलफल गर्ने योजना छ ।

२ वैशाख, काठमाडौं । विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता देखाएका छन् ।

frontline

यसैक्रममा सोमबार संयुक्त रुपमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका उनीहरुले सोही दिन साँझ शिक्षक आन्दोलनका अगुवाहरुसँग पनि सामूहिक छलफल गरेका थिए । आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग छलफल गर्ने योजना उनीहरुको छ ।

शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ ।

उनीहरुले शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका काम प्रभावित भएका छन् ।

सोमबार कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति देउवाको निवासमा पुगेर पनि शिक्षकका माग सम्बोधनका उपायबारे छलफल गरेका थिए । त्यसपछि शिक्षक आन्दोलनका अगुवाहरुसँग छलफल भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा आयोजित छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी थिए ।

करिब डेढ घण्टा चलेको छलफल सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

‘शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधन गरी समस्या समाधान गर्ने त्यही तरिका हो । यो विषयमा नेपाली कांग्रेसले पहलकदमी गर्नुपर्छ भनेर छलफल भयो,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘यसबारे आज शिक्षा समितिमा सदस्य रहेका कांग्रेस सांसदहरुसँग पनि छलफल गर्ने कुरा छ ।’

शिक्षक आन्दोलन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here