शर्माबारे छानबिन समितिलाई कल डिटेल समेत हेर्न दिइएन भन्दै अध्यक्ष ओलीको आक्रोश
१५ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।
खिर खाने दिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै कल डिटेल हेर्न नदिएको बताए ।
उनले शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेजनै गायब गरिएको दाबीसमेत गरे ।
अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइँदैन, लजा । अब उबेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । उबेला चोरी पत्ता लगाउनु पर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,” उनले भने ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए ।
“थाहा पाउनुभयो होला– इन्टरनेसनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो । जेहोस् राखीले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध, दसैँले सम्पूर्ण नातागोताको सम्बन्ध ।
छठजस्ता चाँडहरू, तिजजस्ता चाडहरू, गौराजस्ता पर्वहरू यस्ता पर्वहरूले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउँछ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्