व्यवसायीको हत्या अभियोगमा ६ जना पक्राउ

२७ माघ, परासी । काठमाण्डौँका एक व्यवसायीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले ६ जनालाई पक्राउ गरेको छ। 

काठमाण्डौँ महानगरपाािलका–२७ असनमा भाडा वर्तन तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय बिजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको थियो।

frontline

लामो समयदेखि काठमाण्डौँमा व्यवसाय सञ्चालन गर्दै आएका मृतक चौधरीको स्थायी ठेगाना कपिलबस्तु जिल्ला सुद्धोधन गाउँपालिका–१ उच्डीहवा हो।

हत्याका मुख्य अभियुक्त रामग्राम नगरपालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र निजकी ३५ वर्षीय श्रीमती हदिसुन नेसा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए। उनीहरुलाई गत मंगलबार प्रहरीले भारतीय सीमावर्ती नजिकको महेशपुर नाकाबाट पक्राउ गरिएको हो। 

पक्राउ पर्ने अन्यमा रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्त कुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाण्डौंका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। 

देवान दम्पत्तिले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको खुलेको शाहीले बताए। घर जग्गा किनाई दिने भन्दै तलत अलिले मुख्य अभियुक्त देवानको सम्पर्कमा मृतक चौधरीलाई पु¥याएका थिए।

देवान दम्पत्तिले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधी घाटीमा डोरीले कसेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्या पश्चात देवान दम्पत्तिले मोटरसाइकलमा राखेर मृतक चौधरीलाई जोकवार गाउँको बाटोमा लगेर फालेका थिए। 

ऋणमा डुबेका देवान दम्पत्तिले रकमको प्रलोभनमा चौधरीको हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ। २० लाखमध्ये १७ लाख ३३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ।

जसमध्ये २ लाख रुपैयाँ पक्राउ परेका केवटको घरबाट र १५ लाख ३३ हजार ५ सय रुपैयाँ परासी बजारकै एक मोबाइल पसलबाट बरामद गरिएको छ। केवटले नै मोबाइल पसलमा पैसा राख्न दिएको खुलेको छ। 

पक्राउ परेका केवट दम्पत्ति मुख्य अभियुक्त देवानका दिदी भिनाजु रहेको प्रहरीले जनाएको छ। जग्गाको कारोबार गर्नका लागि रकम बोकेको बताए पनि अन्य अवैध कारोबार हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको बताएको छ। 

देवानको घरबाट प्रहरीले मृतक चौधरीले लगाएका गरगहना, ९ थान मोबाइल, त्यसमा प्रयोग हुने सीम कार्डहरु र किर्ते सरकारी छाप समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको डिएसपी शाहीले जानकारी दिए। अन्य सँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here