व्यक्तिगत खर्चमा वडावासीका लागि पानीको पाइप
३१ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा निर्वाचित एक जना वडाध्यक्षले व्यक्तिगत खर्चमा वडावासीका लागि पानीको पाइप उपलब्ध गराएका छन् ।
विदुर नगरपालिका-२ का वडाध्यक्ष दीपक कायस्थ चुनाव प्रतिबद्धता पूरा गर्दै अहिले समुदाय र गाउँटोलमा पुगिरहेका छन्।
निर्वाचनका अगाडि मत माग्ने क्रममा मतदाताको घरदैलोमा पुग्दा उनले देखेको खानेपानीको समस्या हटाउने प्रतिबद्धता वडाध्यक्ष कायस्थले जितेको केही दिनमै खानेपानीको समस्या समाधान गरेका हुन् । पाइप दिएपछि स्थानीयवासीको पिउने पानीको समस्या समाधान भएको छ।
वडाध्यक्ष कायस्थको सहयोगबाट सूर्यगढी गाँउपालिकाको सिप्लिघान मुहान गरी विदुरको नुवाकोट दरबार क्षेत्रसम्म पिउनेपानी ल्याएपछि दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
चुनाव जितेपछिको भोजभतेर जस्ता अनावश्यक खर्च नगरी गाउँवासीको दैनिक जीवनमा परेको समस्या समाधान तर्फ आफू लागेको वडाध्यक्ष कायस्थले बताए।
सिप्लिघान मुहान गरी नुवाकोट क्षेत्रसम्म लाग्ने ६३ र ५० ईन्च साइजको पाइप र सम्पूर्ण ‘फिटिङ’का सामग्रीहरू उपलब्ध गराएको उनले बताएका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ४७ वर्षिय कायस्थ नेकपा एमालेबाट विदुर नगरपालिका-२ मा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्