वीरगन्ज नाकामा कोरोनाको जोखिम उच्च, व्यापक हेलचेक्र्याइ

२६ पुस, वीरगन्ज । पर्साको वीरगन्ज नाकामा दैनिक उपभोग्य सामान किनमेल गर्ने सीमावर्ती भारतीय बजार रक्सौल गएर फर्किनेहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ।

यसअघि सीमाको हेल्थ डेस्कमा भारतबाट लामो यात्रा गरेर नेपाल प्रवेश गर्नेहरुको मात्र एन्टिजेन परीक्षण हुँदै आएको थियो। त्यस क्रममा प्रायः भातीयहरुमा मात्र कोरोना संक्रमण फेला पर्ने गरेको थियो। तर पछिल्लो केही दिनयता रक्सौलमा किनमेल गर्न जानेहरुको पनि परीक्षण गर्न थालिएपछि कोरोना संक्रमण पुष्टि हुनेहरुमा अधिकांश पर्सा र बाराका स्थानीय रहेका छन्।

frontline

आइतबार अपरान्हसम्म ४२१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण भेटिएको छ। तीमध्ये २ जनामात्र भारतीय हुन्। बाँकी ६ संक्रमित पर्सा, बारा र मकवानपुरका हुन्। उनीहरु सबै जना आइतबार दिउँसो किनमेल गर्न रक्सौल गएको हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महतोले जानकारी दिइन्।

संक्रमित हुनेहरु वीरगन्ज महानगरका ३ जना, पर्सागढी नगरपालिकाका १ जना, बाराको निजगढ नगरपालिका-११ रतनपुरीका १ जना र मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १ जना रहेको डाक्टर महतोले बताइन्।

यसअघि शनिबार पनि ४ सय जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये ४ जना भारतीय र बाँकी ९ जना नेपाली रहेका थिए। गत शुक्रबार भने १५७ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको थियो। ती सबै भारतीय रहेको र कामको सिलसिलामा वीरगन्ज आएको बुझिएको छ।

सीमा हेल्थ डेस्कमा पुस ९ गतेयता आइतबार अपरान्हसम्म ५४ जनामा संक्रमण देखिएको छ। ‘ ४-५ दिन पहिलेसम्म भारतबाट लामो यात्रा गरेर आउनेहरुमा मात्र संक्रमण भेटिन्थ्यो। तर अहिले रक्सौल बजारमा दैनिक किनमेल गरेर फर्किने नेपालीहरुमै प्रायः संक्रमण फेला परिरहेको छ। यो थप चिन्ताको विषय हो,’ डाक्टर महतोले भनिन्।

दैनिक ५ हजार बढीको आवागमन, परीक्षण भने ४ सयको मात्रै

पर्सा, बाराका स्थानीयमा संक्रमण फेला पर्न थालेपछि सीमाको हेल्थ डेस्कमा दुई दिन यता परीक्षणको दायरा बढाइएको छ। केही दिनअघिसम्म मुस्किलले दुई सयमा गरिने एन्टिजेन परीक्षण अहिले चार सयको हाराहारीमा गर्न थालिएको छ। तर त्यो पर्याप्त छैन। नेपाल-भारत जोड्ने मुख्य नाका वीरगन्जमा दैनिक ५ हजार बढी मानिस आवतजावत गर्ने इनर्वास्थित सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक हीरा बुढाथोकीले बताए।

भारतबाट आउने सबैको परीक्षण गर्ने हो भने कम्तिमा १० वटा हेल्थ डेस्क र ५० जनासम्म सुरक्षाकर्मी थप्नुपर्ने उनले बताए। उनले सीमामा कोरोनाको जोखिम उच्च रहेको बताए।

‘सुरक्षाकर्मीले ट्याम्पु, इरिक्सा, रिक्सा, टांगा र साना सवारी साधन रोक्न त खोज्छन्, तर प्रहरीलाई छक्याएर जबरजस्ती उनीहरु गाडी हुँइक्याएर भाग्छन्, यसका लागि नाकामा सुरक्षाकर्मी अनि स्वास्थ्यकर्मीको संख्या थप्नैपर्छ,’ उनले भने।

हेल्थ डेस्क इन्चार्ज डाक्टर महतोले पनि नाकामा चाहिएजति परीक्षण हुन नसकेको स्वीकारिन्। ‘प्रहरीको सहयोगमा स्वास्थ्यकर्मी आफैँ सडकमा उभिएर उताबाट आएका सवारीसाधन रोक्न खोज्छन्, तर गाडीवालाले टेर्दैनन्, गाडी झन हुइक्याएर भाग्छन्,’ महतोले भनिन्। गाडी रोक्नेहरुको मात्र एन्टिजेन परीक्षण गर्ने गरेको उनले बताइन्।

संक्रमितहरुको व्यवस्थापनमा समस्या

सीमाको परीक्षणमा कोरोना पोजेटिभ देखिएका संक्रमितहरुको व्यवस्थापन पनि भद्रगोल देखिएको छ।

हेल्थ डेस्कका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा संक्रमितहरुमध्ये भारतीयलाई, नाकामा तैनाथ सुरक्षकर्मीको सहयोगमा भारततर्फ नै फर्काइदिने गरेका छन्। तर ती संक्रमित चोर बाटो भएर फेरि नेपालमै प्रवेश गर्ने गरेको स्वंय स्वास्थ्यकर्मीले नै बताएका छन्।

भारतीय संक्रमितलाई सीमावर्ती रक्सौलका भारतीय प्रहरीले जिम्मा लिन नमानेका कारण यस्तो समस्या देखिएको हेल्थ डेस्क इन्चार्ज डाक्टर महतोले बताइन्। ‘भारतीय पुलिसले जिम्मा लिनै मान्दैन, अनि हामीले भारत नै फर्क भनेर संक्रमितलाई गेटबाट फिर्ता पठाइदिन्छौं, तर कतिपय संक्रमित चोर बाटो भएर नेपाल छिरिहाल्छन्, अबको यसको निगरानी गर्ने कोही छैन,’ उनले भनिन्। नेपाली संक्रमितहरुको व्यवस्थापनमा पनि उस्तै समस्या रहेको डाक्टर महतोले बताइन्।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को नियम अनुसार नाकामा संक्रमण पुष्टि भएका नेपाली संक्रमितलाई उसको सम्बन्धित पालिकासँग समन्वय गरेर सुरक्षाकर्मीको सहयोगमा नाकाबाट छुट्टै गाडी रिजर्भ गरेर उसकै पालिकामा पठाउनुपर्ने हुन्छ।

तर रिजर्भ गरिएको गाडीको भाडा खर्च तिर्न संक्रमितले नमान्ने गरेका कारण समस्या भइरहेको डाक्टर महतोले बताइन्। ‘प्राय संक्रमितसँग गाडी रिजर्भ गरेर जाने पैसा हुँदैन, त्यो अवस्थामा कतिपयलाई हामीले  नाकाबाट अटो रिक्सा वा ट्याम्पुमा राखेर पठाइदिन्छौं, त्यसपछि कहासम्म पुग्छ, के गर्छ हामीलाई थाहा हुँदैन,’ उनले भनिन्।

वीरगन्ज महानगरका संक्रमितहरुलाई भने उसको अभिभावक वा आफन्तलाई बोलाएर होम आइसोलेसनमा बस्नेगरी जिम्मा लगाएर पठाउने गरिएको डाक्टर महतोले बताइन्। तर वीरगन्ज बाहिरका संक्रमितहरुको हकमा भने धेरै समस्या भइरहेको उनको गुनासो थियो।

नाकामा संक्रमण पुष्टि भएका संक्रमितहरुको व्यवस्थापन र परीक्षणमा पनि समस्या भइरहँदा पनि डीसीसीएमसीले कुनै सुनुवाइ नै नगरेको गुनासो पनि उनले गरिन्। ‘हामीलाई यति धेरै समस्या भइरहेको छ। तर, डीसीसीएमसी वा प्रमुख जिल्ला अधिकारीले हामीसँग एकपटक पनि मिटिङ गर्नु भएको छैन,’ उनले भनिन्।

यस्तै परिस्थिति रहने हो भने फेरि पहिलेजस्तै संक्रमणको महामारी फैलिएर वीरगन्ज फेरि हटस्पट बन्ने निश्चित रहेको डाक्टर महतोले बताइन्।

सीमामा परीक्षणको दायरा बढाउने निर्णय

यसैबीच आइतबार साँझ बसेको डीसीसीएमसीको बैठकले वीरगन्ज नाकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ। बैठकले सीमाको हेल्थ डेस्कलाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउने निर्णय गरेको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

सीमामा परीक्षणको दायरा बढाउन हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संख्या थप्ने निर्णय गरिएको उनले बताए। सीमाको परीक्षणमा संक्रमण पुष्टि हुने संक्रमितहरुलाई क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए।

त्यसका लागि वीरगन्ज भन्सार परिसरमा निर्माणको अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरलाई तत्कालका लागि आंशिकरुपमा सञ्चालनमा ल्याइने जानकारी उनले बताए। ‘भन्सार परिसरमा सरकारले १ हजार जनालाई राख्ने होल्डिङ सेन्टर बनाइरहेको छ। जसमा हालः ३ सय जनालाई राख्नसक्ने बेडको व्यवस्थापन भइसकेको छ। त्यसलाई तत्कालै सञ्चालनमा ल्याउँदैछौं,’ उनले भने।

त्यस्तै ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गरी जिल्लाका १४ वटै पालिकालाई आ-आफ्नो पालिकाको आवश्यक स्थानमा कोभिड हेल्थ डेस्क सञ्चालन गरी कोरोना परीक्षणको काम थाल्न निर्देशन पनि दिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here