वीरगञ्जको मतगणनामा सदर भन्दा बदर मत बढी
१ जेष्ठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणनाको क्रममा सदर भन्दा बदर मत बढी भेटिएको छ । महानगरको ३५७९ मतगणना गर्दा उपमेयरमा ५२ प्रतिशत मत बदर भएको छ भने ४८ प्रतिशत मत सदर भएको देखिन्छ ।
महानगरपालिकाको वडा नं १, २, ३१ र ३२ को ३५७९ मतगणना गर्दा उपमेयरमा १८७३ वटा मत बदर भएको मुख्य निर्वाचन कार्यालय वीरगञ्जले जनाएको छ ।
उक्त ४ वटा वडाको ३५७९ मतगणनामा उपमेयरमा १७०६ वटा मत सदर भएको छ भने १८७३ वटा मत बदर भएको छ ।
यता वडा नम्बर १ को उपप्रमुख पदमा २३ वटा मत सदर भएको छ भने १२३ वटा मत बदर भएको छ । वडा नं २ को उपमेयरमा ४३८ वटा मत सदर भएको छ भने २६३ वटा मत बदर भएको छ ।
त्यस्तै वडा नं ३१ को उपमेयरमा ६५२ वटा मत सदर भएको छ भने ६९९ वटा मत बदर भएको छ । वडा नं ३२ को उपमेयरमा ५९३ वटा मत सदर भएको छ भने ७८८ वटा मत बदर भएको छ ।
यसरी समग्रमा हेर्दा वडा नं १, ३१ र ३२ मा उपमेयर पदमा सदर भन्दा बदर मत बढी देखिएको छ । त्यसैगरी यही ४ वटा वडाको मतगणनामा मेयर पदमा २६ प्रतिशत मत बदर भएको देखिन्छ । ३५७९ मतगणना गर्दा मेयर पदमा ९३१ वटा मत बदर भएको छ ।
वडा नं १ मा मेयर पदमा १०० मत सदर भएको छ भने ४६ मत बदर भएको छ । वडा नं २ मा ५५१ मत सदर भएको छ भने १५० मत बदर भएको छ । यसरी नै वडा नं ३१ मा १०६५ मत सदर भएको छ भने २८६ मत बदर भएको छ ।
वडा नं ३२ मा ९३२ मत सदर भएको छ भने ४४९ मत बदर भएको छ । यसरी समग्रमा हेर्दा उपमेयर पदमा बदर मत बढी देखिएको छ, भने मेयरमा पनि २६ प्रतिशत मत बदर भएको छ ।
निर्वाचन अघि मतदाता शिक्षा संचालन नगरेको कारण र पार्टीबीच भएको गठबन्धनको कारण पनि मतदाताहरु अन्योलमा परेकोले पनि बदर मतको संख्या बढेको बताइएको छ ।
वीरगञ्ज महानगरको ३२ वटै वडामा १ लाख २४ हजार ६ सय ४७ मतदाता छन्, भने ९४ हजार ३ सय २४ मत खसेको । जसमा ३५७९ मतगणना गर्दा उपमेयरमा ५२ प्रतिशत र मेयरमा २६ प्रतिशत मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस्