विष्णुपुर गाउँपालिकाका पशु सेवा र कृषि शाखा कार्यालयमा भेटिंदैनन् कर्मचारी

विष्णुपुर गाउँपालिकाका अधिकांश व्यक्ति कृषि पेशामा संलग्न छन् । तर कृषिसँग प्रत्यक्ष सरोकार राख्ने पशु सेवा र कृषि विकास शाखा कार्यालय भदौ महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका छन् ।
२९ फागुन, जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका–१ बजारस्थित पशु सेवा शाखा कार्यालयमा फागुन १३ गते दिउँसो १२ः१५ बजे भोगेन्द्र यादव र सुनिता मण्डल बोका लिएर पुगे । सिरहा नगरपालिका–१० पदमपुरबाट अटो रिक्सा चढेर आएका उनीहरू बोकाको उपचार गराउन चाहन्थे । तर कार्यालय बन्द थियो । कर्मचारी आउने आशामा उनीहरू केहीबेर पर्खे ।




‘अटोमा ७०–७० रुपैयाँ भाडा तिरेर आएँ । तर अहिलेसम्म कार्यालय खुलेको छैन । सरकारी अफिस त १० बजे नै खुल्छ,’ भोगेन्द्रले गुनासो गरे । एक वर्षअघि यसै कार्यालयमा सेवा पाएका उनले यसपालि भने निराश हुनुपर्यो ।
उनीहरू केही समय पर्खिए, वरिपरि हेरे, तर कोही आएनन् । स्थानीयहरूबाट उनीहरुले जानकारी पाए, यो कार्यालय केही समयदेखि नै बन्द छ । सुनेर उनीहरू निराश भए । ‘बेकारमा यहाँ बोका लिएर आएँ । बरु केही थप भाडा तिरेर सिरहा सदरमुकाम गएको भए काम हुन्थ्यो । अब फेरि भाडा तिरेर फर्किनुपर्छ । सरकारी कार्यालयको हालत नै यस्तो छ,’ सुनिता मण्डल गुनासो गर्दै घरतिर लागिन् ।
पशु सेवा कार्यालयसँगै रहेको कृषि विकास शाखा कार्यालय पनि त्यतिबेला बन्दै थियो । विष्णुपुर गाउँपालिकाअन्तर्गत रहेका यी दुवै कार्यालय स्थानीय कृषकहरूका लागि अत्यन्तै आवश्यक छ । तर, यी दुबै कार्यालय भदौ महिनादेखि निरन्तर बन्द रहेको वडा नम्बर १ का वडाध्यक्ष भोगेन्द्र यादवले बताए ।
‘भदौमै दुबै कार्यालयका कर्मचारी नियमित अवकाशमा गएपछि जनशक्ति अभावका कारण कार्यालय बन्द छ,’ वडाध्यक्ष यादवले भने ‘यसकारण दैनिक किसानहरू विभिन्न समस्या लिएर आउँदा निराश भएर फर्किनुपरेको छ ।’
यी कार्यालयहरू गाउँपालिका कार्यालयबाट करिब १५० मिटरको दूरीमा भए पनि सेवा लिन नपाएर स्थानीयहरू मर्कामा परेका छन् ।
गाउँपालिका कार्यालयका अनुसार पशुसेवा शाखामा कार्यरत प्राविधिक राम दयाल यादव र कृषि विकास शाखामा कार्यरत शिवशंकर यादव गत भदौमै नियमित अवकाशमा गएका थिए । उनीहरूको अवकाशपछि जनशक्ति अभावका कारण कार्यालय प्रायः बन्द रहने गरेको छ ।
प्रशासनिक कामकाजका लागि रोजगार संयोजक दीपक मण्डल र धनबीर यादवलाई थप जिम्मेवारी दिइएको थियो । स्थानीयका अनुसार उनीहरूले कहिलेकाहीँ मात्र कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।
पालिकाका अधिकांश नागरिक कृषि पेशामा संलग्न छन् । तर कृषिसँग सम्बन्धित दुबै शाखा बन्द हुँदा किसानहरू बालीनाली तथा पशुसेवासम्बन्धी सेवा नपाएर समस्यामा परेका छन् । जनशक्ति व्यवस्थापनमा पालिका प्रमुखले चासो नदिँदा कृषकलाई सेवा दिने दुबै कार्यालय अस्तव्यस्त बनेको वडाध्यक्ष यादवले गुनासो गरे ।
‘कार्यालय बन्द रहेको भन्दै वडावासीले पटक–पटक गुनासो गर्छन् । मैले पनि कर्मचारी व्यवस्था गरी नियमित सेवा प्रवाह गर्न पालिका अध्यक्षलाई धेरैपटक आग्रह गरें । तर उहाँको कुनै चासो देखिँदैन,’ वडाध्यक्ष यादव भन्छन् ।
यता पालिका अध्यक्ष सत्यनारायण यादव जनशक्ति व्यवस्थापनका लागि थप प्रयास गरिरहेको बताउँछन् ।
‘भेटनरी डाक्टर बद्रीनारायण यादव र कृषि शाखामा लक्ष्मी पासवान बसेर सेवा प्रदान गर्नुहुन्छ,’ उनले भने, ‘उहाँहरुले १०–१२ दिनदेखि कार्यालय खोल्ने गर्नु भएको छ ।’
केही वर्षअघि संघीय सरकारको करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पशुसेवा कार्यालय जीर्ण अवस्थामा पुगेको छ । भवनका विभिन्न भाग चर्किएका छन् । शौचालयको ढोका तोडफोड भएको छ । कतै कुनै साइनबोर्ड छैन । दुबै कार्यालय भद्रगोल र अस्तव्यस्त देखिन्छन् ।
गाउँपालिका अध्यक्ष यादवले थप जनशक्ति व्यवस्थापन र कार्यालय मर्मत सम्भारका लागि प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्