विश्व हिन्दु महासंघले भन्यो– हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा छैन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • राप्रपा र राप्रपा नेपालले जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको र हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका छन्।
  • तर, विश्व हिन्दु महासंघ नेपालले वर्तमान चर्चामा रहेका व्यक्तिहरूमा राजा हुन आवश्यक गुण नभएको जनाएको छ।
  • राजा र धर्म फरक विषय भएको उल्लेख गर्दै डा. रामचन्द्र अधिकारीले मध्यमार्गी लोकतान्त्रिक मूलधार नै हाम्रो मुख्य बाटो भएको बताए।

१४ जेठ, काठमाडौं । राजावादीहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ ।

frontline

जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको लक्ष्य अनुसार यही जेठ १५ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ । चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।’

जेठ १५ गते हुन लागेको प्रदर्शनको विषयमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका थिए ।

‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ,’ शाहीकालमा मन्त्री समेत बनेका थापाले भनेका थिए, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ।’ हृदयेन्द्र ज्ञानेन्द्रका नाती र पारस शाहका छोरा हुन् ।

के हो ‘बेबी किङ’ ?

गणतन्त्र स्थापना अघि गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा ‘बेबी किङ’को धारणा चर्चामा थियो ।

त्यतिबेला शताब्दी पुरानो राजसंस्था फाल्दा सेनाले विद्रोह गर्न सक्ने भएकाले ज्ञानेन्द्र शाहको कुनै सन्तानलाई राजाको रुपमा राखिराख्ने भन्ने प्रस्तावमाथि प्रमुख राजनीतिक दलका शीर्ष तहमा छलफल चलेको थियो ।

तत्कालीन प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले बाह्रखरीसँगको कुराकानीमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवालले ‘बेबी किङ’को प्रस्ताव ल्याएको बताएका छन् । गिरिजाले अन्तर्राष्ट्रिय पत्रकारहरुसँगको एक भेटमा ‘बेबी किङको लागि लचक छौं’ भनिदिएको चालिसेले बताएका छन् । यो कुरा प्रधानमन्त्रीको सचिवालयले राजाको सचिव सागर तिमल्सिना मार्फत् राजासम्म पुर्‍याएको तर राजाले नै नमानेको प्रसंग पनि चालिसेले सुनाएका छन् ।

रातोपाटीसँगको भिडियो कुराकानीमा माधव नेपालले भने भारतीय एक व्यक्तिले आफूसँग ‘बेबी किङ’को प्रस्ताव ल्याएको तर आफूले अस्वीकार गरिदिएको बताएका छन् । त्यसपछि ती प्रस्तावकर्ता गिरिजा र शेरबहादुर देउवाकहाँ पुगेर त्यही कुरा राखेको नेपालको भनाइ छ ।

अहिले कमल थापाले हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएर दुई दशकभन्दा अघि भएको ‘बेबी किङ’को बहसलाई सम्झाएका छन् ।

‘राजा र धर्म फरक’

राजावादीहरुले राजसंस्था र हिन्दु राज्य पुनरस्थ्पानाको एजेण्डासहित आन्दोलन गरिरहेका बेला विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. अधिकारीले त्यसमा विमति राखेका छन् ।

राजा र धर्म फरक विषय भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीले राजालाई धर्मसँग जोड्दैनौं, राजा राजनीतिक विषय हो, समय क्रममा स्थापित–विस्थापित हुनसक्छ तर धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय हो । यो निरन्तर चलिरहन्छ ।’

उनले थप लेखेका छन्, ‘हामी घोर दक्षिणपन्थी र उग्रवामपन्थी कुनै पनि धार तिर झुक्दैनौं । मध्यमार्गी लोकतान्त्रिक मूलधार नै हाम्रो मूलबाटो हो । धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र हाम्रो लक्ष्य हो ।

आन्दोलनमा जाँदा भैपरि आउने जोखिमको भागीदार स्वयं हुनुपर्ने

उनले राजावादीहरुको आन्दोलनमा स्वेच्छाले सहभागी हुनेहरुलाई रोक नलगाउने तर जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्ने स्पष्ट पारेका छन् ।

अधिकारीले लेखेका छन्, ‘स्वेच्छाले व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन चाहने जो कोही होस् व्यक्तिगत स्वतन्त्रता हनन् नहुने गरी हामी आन्दोलनमा सहभागी हुन चाहने जो कोहीलाई रोक लगाउँदैनौं । तर आन्दोलनमा जाँदा भैपरि आउने जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्ने छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ ६ गतेको एक सार्वजनिक कार्यक्रममा जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना गरेरै छाड्ने बताएका थिए ।

राजा |विश्व हिन्दु महासंघ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here