विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको छ, अदालतबाट न्याय पाउनेमा आशावादी छु : देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। उनले आफू मेलमिलापको पक्षमा रहेको बताउँदै अदालतबाट न्याय पाउने आशामा रहेको बताए।

शुक्रबार कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुनेगरी समाधान गर्नुपर्ने बताए। उनले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए।

frontline

‘विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको छ। सर्वोच्च अदालतले न्याय दिन्छ भन्नेमा म आशावादी छु,’ उनले भने, ‘हामी मेलमिलापको पक्षधर हौँ। पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुनेगरी समाधान हुनुपर्छ, व्यक्ति केन्द्रित होइन।’

मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताए। राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सबै राष्ट्रिय राजनीतिक शक्तिलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘संकटका समयमा संवाद र सहमतिमा जोड दिनुपर्छ। यही मूल्य मान्यतामा म कटिबद्ध छु,’ उनले भने।

आफू प्रजातन्त्रको पक्षमा रहेको बताउँदै देउवाले विगतमा शाही शासनले आफूलाई जेल हालेको र त्यतिबेला अदालतले न्याय दिएको स्मरण गरे। त्यसैले अहिले पनि न्यायालयले न्याय दिनेमा आफू आशावादी रहेको उनले बताए।

‘मैले राजालाई भनेकै हुँ, म प्रजातन्त्रको खिलाप छैन। म प्रजातन्त्रको समर्थक हुँ,’ उनले भने, ‘मलाई शाही शासनले जेल हालेकै हो। त्यतिबेला अदालतले न्याय दिलाएको थियो। त्यसैले अहिले पनि न्यायालयले न्याय दिन्छ भन्ने आशा गरेको छु।’
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here