विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले निष्कासित गरे मिलन पाण्डेलाई

६ पौष, काठमाडौं । पार्टीको विधान र निर्णयविपरीत गतिविधि गरेको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् ।

मंगलबार विज्ञप्तिमार्फत पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै अध्यक्ष मिश्रले आजैदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासन गरेका छन् ।

frontline

विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण (च)सं. ५०१ माग गरिएको विदितै छ ।’

साथै, संयोजक पाण्डेलाई स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नआएको पनि विज्ञप्तिमा भनिएको छ । ‘पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टिकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।’

स्पष्टीकरणको चित्तबुझ्दो जवाफ र पार्टीको हितविपरीत काम गरेपछि आजैको मितिदेखि पार्टीबाट निष्कासन गरिएको छ । ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग (३७.१) को अधिकार प्रयोग गर्दै तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन निर्णय गरेको छ ।’

संयोजक पाण्डेले प्रयोग गर्दै आएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग ंसम्बन्धित कुनै पनि सामगी आजकै मितिदेखि प्रयोग नगर्न पनि विज्ञप्तिमार्फत भनिएको छ ।

मंगलबारै संयोजक पाण्डेले अलग्गै केन्द्रीय समिति घोषणा गरेका थिए । उनले हाल पार्टीमा कायम रहेका १३० केन्द्रीय सदस्यकामा थप गरेर २०१ सदस्यीय नयाँ समिति घोषणा गरेका थिए ।

एक विज्ञप्ति जारी गर्दै पाण्डेले उक्त नयाँ समितिलाई ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ नाम दिएका छन् । पाण्डेले उक्त अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा सांगठिनक रूपमा थप सशक्त बनाउने रहेको बताएका छन् ।

तर, संयोजक पाण्डेले नयाँ केन्द्रीय समिति घोषणालगत्तै अध्यक्ष मिश्रले उनलाई पार्टीबाट निष्कासन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here