विराटनगर र इटहरीको बस्तीमा बाढी, घरहरू डुबानमा
विराटनगर । अविरल वर्षासँगै आएको बाढी विराटनगरको बस्तीमा पसेको छ । लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी उर्लिएको छ ।
प्रहरीका अनुसार मंगलबार सिंघिया खोलाको बाढी विराटनगरका कतिपय बस्तीतर्फ पसेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले विराटनगरका केही भागमा बाढी पसेको जानकारी दिए । उनले भने, “खोला आसपाको होचा बस्तीतर्फ बाढी पसेको छ ।”
विराटनगर महानगरपालिका–८ मा सिंघिया खोलाको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । घरमै पानी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् ।
उता, लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ । स्थानीय टेंग्रा खोलाको बाढी बस्तीतर्फ पसेको छ । खेती खोला, बूढी खोला र सुकुमारी खोलामा पानीको बहाव बढेको छ ।
इटहरी वडा नम्बर–५, ३, ४, २, २०, ९ लगायत भागमा बाढी पसेर घरहरू डुबानमा परेका छन् । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले पानीको बहाव सहज गराउन डोजर लगाएर अवरोध हटाउने काम सुरु गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्