विपद्पछिको अनुत्तरित प्रश्न: राहत त पाइयो, अब जीवन कसरी धान्ने ?

काठमाडौं : ‘बाढीमा मैले मेरा बुबा र आमा दुवैलाई गुमाएँ। एकाएक यस्तो घटना भयो, हाम्रो पूरै संसार नै परिवर्तन भएजस्तो भएको छ,’ २१ वर्षीया पीडित रसुवाकी एक युवतीले भावविह्वल हुँदै भनिन्। तामाङ थरकी उनी अहिले काठमाडौंमा छिन्। ब्याचलर इन म्यानेजमेन्ट दोस्रो वर्षमा अध्ययनरत उनी बुबाआमाको काजकिरियामा बसेकी छन्। तर, काजकिरिया सकिएपछि जीवन कसरी अघि बढाउने भन्ने प्रश्नले उनलाई झन् बढी पिरोल्न थालेको छ।

उनका बुबा चिलिमे हाइड्रोपावरमा काम गर्थे। भोटेकोशीमा बाढी आएपछि उनी सुरक्षित स्थानमा पुगिसकेका थिए। तर, घरमा रहेकी श्रीमतीलाई बाहिर निकाल्न फेरि घरतर्फ गए। त्यही क्रममा दुवै जना बाढीको चपेटामा परे। घटनाको अघिल्लो दिनसम्म उनीसँग बुबाआमाको फोनमा नियमित कुराकानी भइरहेको थियो।

frontline

‘म र मेरो दाइ काठमाडौंमा डेरामा बसेर पढ्दै थियौं। हाम्रो कलेजको शुल्कदेखि बसाइ र सम्पूर्ण खर्च बुबाआमाले नै हेर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले भने हामी बुबाआमाको काजकिरियामै छौं।’ उनले राहत त पाएकी छिन्, तर उनको प्रश्न राहतभन्दा परको छ। ‘काजकिरिया सकिएपछि भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयले हामीलाई निकै चिन्तित बनाएको छ,’ उनले भनिन्, ‘सरकार तथा विभिन्न संघ–संस्थाले अहिलेमात्र होइन, भविष्यका लागि पनि निरन्तर सहयोग गरिदिए हुन्थ्यो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here