विजयदशमीका दिन आज बिहानैदेखि वर्षा
१९ असोज, काठमाडौं । विजयदशमीका दिन आज बुधबार बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति भने प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्य देखि पुर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले दशैंका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्