विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष
३० कात्तिक, काठमाडौं । आपराधिक पृष्ठभूमिका व्यक्तिहरु प्रयोग गरेर लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि रड प्रहार भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।
आक्रमण गर्ने समूहका ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी पक्राउ परेपछि आक्रमणमा को–को संलग्न थिए भन्नेसम्म प्रहरीले पत्ता लगाएको छ ।
प्रहरीका अनुसार आक्रमणमा तामाङका साथै अजय लामा, निश्चल सुनार र दीपक बरामु संलग्न थिए । लामा, सुनार र बरामु अहिलेसम्म फरार छन् । पक्राउ परेका तामाङले भने अजय लामाले आक्रमण गर्न भनेपछि आक्रमण गरेको प्रहरी समक्ष बताएका छन् ।
अहिले हिरासतमा रहेका तामाङ यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । उनीसहितको समूहले ठमेलको छायाँ सेन्टरस्थित प्लेब्वाई क्लबको पार्किङमा एक व्यक्तिमाथि आक्रमण गरेको थियो ।
नुवाकोटकै गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङको समूहमा रहेका तामाङसहित ७ जनाविरुद्ध त्यतिबेला ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार ‘घैटे’कै सहयोगी सानुभाइले पछिल्लो समय आफ्नो छुट्टै समूह बनाएर गुण्डागर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् । उनै सानुभाइको समूहमा रहेका तामाङले व्यवसायी विक्रम लामामाथि आक्रमण गर्न प्रयोग भएको खुलेको छ ।
‘आक्रमण गर्नेहरुको पृष्ठभूमि पनि आपराधिक देखिएकाले योजनाबद्ध रुपमा कोहीमार्फत परिचालन भएको जस्तो देखिन्छ’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन् ।
त्यस्तै अर्का फरार व्यक्ति अजय लामा पनि यसअघि ठगी मुद्दामा तीन वर्ष ६ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध गत पुस ९ मा मात्रै ठमेलको सात घुम्तीस्थित १०एक्स क्लबको अगाडि ड्युटीमा रहेका प्रहरी जवान लोकबहादुर बुढामाथि कुटपिट गरेको आरोपमा समेत मुद्दा चलेको थियो । त्यतिबेला लामाको समूहले प्रहरी जवान बुढाको टाउकामा किक हान्नुका साथै मोबाइल समेत फुटाइदिएको थियो । उनै अजयले आफूसहित तीन जना प्रयोग गरेर विक्रममाथि आक्रमण गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारी बताउँछन् ।
‘ठगी मुद्दामा विक्रमकै कारण आफू साढे ३ वर्ष जेल बस्नु परेको भन्दै उनैले आक्रमण गर्ने योजना बनाएपछि आक्रमण गरेको हुँ,’ पक्राउ परेका तामाङले प्रहरी समक्ष भनेका छन् ।
प्रहरी स्रोतका अनुसार आक्रमणको योजना बनाएपछि आक्रमणकारीले चार वटा नयाँ मोबाइल सेट र सिमकार्ड किनेका थिए । त्यसपछि ती फोन र सिमकार्ड समेत प्रयोग भएको छैन । जसकारण फरार तीन आरोपीहरुलाई पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तामाङले पनि यो कुरा प्रहरी समक्ष स्वीकार गरेका छन् । त्यसपछि सिमसहितका चारवटै मोबाइल अजयले लगेका थिए । ती मोबाइल अहिलेसम्म प्रयोगमा आएका छैनन् । आक्रमण गर्नुअघि उनीहरुले करिब एक सातासम्म विक्रमको रेकी गरेको समेत अनुसन्धानबाट खुलेको छ ।
तर आक्रमणको एकिन कारण भने प्रहरीले अहिलेसम्म खुलाउन सकेको छैन । आक्रमणको मुख्य योजनाकार अजय पक्राउ परेपछि मात्रै एकिन कारण खुल्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । आक्रमण गर्ने योजना बनाएपछि अजयले कफी खान भन्दै विक्रमलाई बोलाएको र त्यसैबेला अरु तीन जनाको विक्रमसँग भेट भएको खुलेको छ ।
यता पीडित पक्षले भने हाल बेलायतमा रहेकी एक महिलाले हत्या गर्ने उद्देश्यले सुपारी दिएर आपराधिक समूह परिचालन गरेको दाबी प्रहरी समक्ष गरेको छ । पीडित पक्षले बेलायतमा रहेकी भनिएकी महिला नातेदार समेत रहेको र एक क्रसरमा संयुक्त लगानी समेत रहेको, पछिल्लो समय सम्बन्धमा दरार आएपछि मार्नेसम्मको योजना बनाएर आक्रमण भएको दाबी उनीहरुको छ ।
गत वर्ष पनि आफूमाथि यस्तै आक्रमणको योजना बनेको सूचना आएको विक्रमले प्रहरी समक्ष दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्