वाइसिएलको राष्ट्रिय भेला सुरु
रासस भदौ १२ । नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने भेलाको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गर्नुभयो । भर्चुअल माध्यमबाट भइरहेको भेलाको काठमाडौँमा भने उद्घाटन कार्यक्रमको आयोजना गरी शुभारम्भ गरीएको हो ।
सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाइरहेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भेलामा अबको युवा आन्दोलनको राजनीतिक कार्यदिशा, अबको सङ्गठनात्मक कार्यदिशा कस्तो हुने र कस्तो नेतृत्व प्रणाली गर्नेबारे गम्भीर बहस गर्ने बताउनुभयो ।
‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेका छन् । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्