वस्तु विनिमयका लागि कोदो शिविर !

चौरपाटी गाउँपालिकाका स्थानीय बासिन्दाले काेदाेबाट चामल साट्दै आएका छन् । पछिल्लाे समय काेदाेले बजार नपाएपछि गाउँपालिकाकाे सहयाेगमा स्थानीय बासिन्दाले तराईकाे चामल साट्दै आएका हुन् ।

कटानी-चटानीको काम सकिएसँगै कोदो बेच्नका लागि तयार हुने चौरपाटी गाउँपालिका-१ का किसान नवराज विकले बताए । काेदाे बेच्न तयार भए पनि कसैले पनि खरिद गर्न नमान्ने उनले सुनाए। तर पछिल्लाे समय गाउँपालिकाले ल्याएकाे नीतिले काेदाे बेच्न सहज भएकाे उनकाे भनाइ छ ।

frontline

विगतमा बजार नपाउँदा पुरानै कोदो वर्षौंसम्म घरमा स्टक हुन्थ्यो भने केहीले रक्सी बनाउने गरेकाे अनुभव उनले साटे । उनले भने, ‘कोदो भण्डारण गर्न सकिने बाली भएकोले बिक्री नहुँदा ४/५ वर्षसम्म भकारीमा राखेर खाइन्थ्यो ।’ तर गाउँपालिकाकाले पालिकाको कोदोबाट तराईको चामल साट्ने अवधारणा ल्याएसँगै किसानले कोदोकाे बजार पाउन थालेको स्थानीयकाे भनाइ छ । आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा किसानहरू खुसी भएका छन् । 

गाउँपालिकाले अवधारणा बनाएपछि प्रत्येक वडा कार्यलयमार्फत हाल कुनै वडामा सहकारी र कुनै वडामा समिति बनाएर कोदो संकलन गरिन्छ । वडामा संकलित कोदो तराईका व्यापारीसँग गाउँपालिकाले समन्वय गरी साटिदिने काम भइरहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले बताए । उनका अनुसार कोदो खान सबैले नरुचाउने भएकोले बजार नै पाउन मुस्किल छ ।  साथै एक/दुई जना किसाने मात्रै काेदाे लगाउने भएकाले तराईबाट कोही लिन नआउने भएपछि वस्तु विनिमय प्रथालाई ब्युँत्याइएको गाउँपालिकाका अध्यक्ष साउदले बताए । 

पैसाको चलन आउनु अघि आफूसँगै भएको बस्तुले आफूलाई आवश्यक पर्ने वस्तु साटेर उपयोग गरिने प्रथा नै वस्तु विनिमय प्रथा हो । पैसाको चलन आउनुपूर्व यो प्रथा थियो भने हिमाली जिल्लाहरूमा हाल पनि यो प्रथा कायम छ । हाल पनि केही स्थानी तहहरूमा चामलसँग खुर्सानी तथा दहीसँग मकै साटेर खाने प्रचलण कायमै छ । 

चौरपाटी गाउँपालिकाले भने पैसा चलन आइसके पनि कोदोलाई पालिकाले संकलन गर्दा धेरै हुने र धेरै कोदो लिनका लागि भए व्यापारी गाउँसम्मै आउने भएको हुँदा वस्तु विनिमय प्रथालाई कायमै राखिएको गाउँपालिका अध्यक्ष साउदले बताए । यसबाट किसानको कोदोले बजार पाउँदा किसानहरूकफ जीवनस्तरमा सुधार भएको उनको दाबी छ । 

चौरपाटी-१ का वडा सदस्य गणेशबहादुर शाहका अनुसार वडा कार्यालयले संकलन केन्द्र राख्दा कोठा भाडा तिर्नुपर्ने र लामो समयसम्म भण्डारण गर्नुपर्ने बाध्यताका कारण हाल शिविर खडा गरी कोदो संकलन गरिन्छ । तराइका व्यापारी वा सहकारीसँग समन्वयमा शिविर खडा गरिन्छ ।

हाल सबै वडामा कोदो संकलन गरी कुटानीको काम सकिएको हुँदा केही वडामा शिविर राख्ने काम सुरु भएको उनले बताए । प्रत्येक वडामा फरक फरक कम्पनी वा सहकारीमार्फत काम भइरहेको हुँदा वडाअनुसार आफ्नै तरिकाले शिविर राखेर कोदो संकलन गरिन्छ । गत वर्ष वडा नम्बर- १ मा ४ दिन शिविर राखी संकलित कोदो नारायणघाटका एक व्यापारीसँग वडाले चामलसँग सराबरामा साटेको स्मरण गरे । 

गत वर्ष अलि छिटै संकलन गरी विनिमय गरेको थियो तर यस वर्ष भने गाउँ कार्यपालिकाबाट शिविर राख्ने विषयमा निर्णय नै नभएको चौरपाटी गाउँपालिका- ६ का वडाध्यक्ष डबलबहादुर खड्काले बताए । गाउँपालिकाबाट केही निर्णय नभए पनि विगतमा गरिएकोअनुसार केही वडाले संकलन थालेको सुनेको बताए । चौरपाटी सरकारले २०७४ सालदेखि नै पालिकाको कोदोले तराइको चामल साट्दै आएको छ । 

स्थानीय किसानले आफूले उत्पादन गरेको कोदो गाउँपालिकालाई दिएर चामल लिन पाएपछि चामल किन्ने पैसा बचेको छ भने कोदोले बजार पनि पाएको छ । तर कोदोले चामल साट्नका लागि केही शर्तहरू पनि पालना गर्नुपर्नेछ । शर्तअनुसार फलेको कोदो बराबर चामल साट्न पाइने छ । कोदो फलेको हुनुपर्नेछ । त्यसमा कुनै पनि प्रकारको मिसावट वा फोहर हुनुहुँदैन ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको वस्तु विनिमय प्रथा प्रभावकारी बन्दै गइरहेको गाउँपालिका अध्यक्ष साउदको भनाइ छ । गाउँपालिकाले ‘कुटेको चामल, फलेको कोदो’ भन्ने नारासहित सो अवधारणा अवलम्बन गर्दै आएको छ । गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उद्देश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान अघिल्लो कार्यकालबाटै सुरु भएको गाउँपालिकाका अध्यक्ष साउदले बताए । वैदेशिक रोजगारी र तिव्र शहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here