लोसपा सरकारमा जाने तयारी

फाइल तस्बिर

२५ जेठ काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुरले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरे। ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुन सहमति जनाए ।

आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूले गठबन्धन या तालमेल गर्नुपर्ने ठाकुरको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बने।

frontline

त्यसपछि, लोसपा कार्यकारिणी समितिको बैठकमा अध्यक्ष ठाकुरले सरकारमा जानुपर्ने र संसद्बाहिर भएकालाई मन्त्री बनाउनुपर्ने प्रस्ताव नै गरे।

संसद् बाहिरका व्यक्ति पठाउने ठाकुरको प्रस्तावप्रति लोसपाका सांसदहरू भने  असन्तुष्ट बने। यसले पार्टीमा निर्णय हुन सकेन।

तर, सरकारमा सहभागिता जनाउनेबारे लोसपा अध्यक्ष ठाकुर सकारात्मक रहेको बालुवाटार स्रोतले बतायो। रक्षा मन्त्रालय खाली छ। २३ सदस्यीय मात्रै भएकाले २ मन्त्री थप्न प्रधानमन्त्रीलाई सुविधा छ। 

लोसपा सरकारमा जाने निश्चित जस्तै भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव झस्किएका छन्। उनले सहकार्यका लागि जसपासँग आग्रह नै गरेका छन्।

यता, लोसपाले ‘सरकारमा जाने वातावरण बनाउन’ प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।  नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयनलगायतका माग समेटिएको ज्ञापनपत्र बुझाइएको छ।

ज्ञापनपत्रमा देउवा नेतृत्वको सरकार निर्माण हुने बेला गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गरिएको छ। ज्ञापनपत्रमा ‘संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने’ माग गरिएको छ।

विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्ने गराउने बुँदा पनि समेटिएको छ। 

लोसपाका केन्द्रीय नेता केशव झाले सरकारलाई आफूहरूको समर्थन भएकाले लामो समयदेखि थाती रहेका पार्टीका माग सम्बोधन गर्न अनुरोध गरिएको बताए। जसपा अध्यक्ष यादवले मिलेर जान निम्तो दिए पनि औपचारिक प्रस्ताव नगरेको झाले बताए।

पार्टीको बैठकमा सहभागी हुन जनकपुर पुगेका यादवले विगतमा भएका कमीकमजोरीलाई सच्याएर अगाडी बढ्न सकिने भन्दै बिग्रेका कदमलाई सच्याएर समीक्षा गर्दै पुनः मिल्न सकिने बताएका थिए। 

यादवले भने, ‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो ? कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ?’ उनले भने, ‘उहाँहरू जसपाबाट निस्केर कहाँ पुग्नुभयो ? उहाँहरू निस्केर फाइदा कसलाई भयो ? मधेस त घाटामै छ।

समग्र मधेसलाई नोक्सान भएको छ। विगतका सबै विषयमलाई समीक्षा गर्दै सच्याउँदै जाऔं। सँगै मिलेर काम गरौं।’

प्रधानमन्त्रीले दुईवटा मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन खोजेको भन्ने हल्ला मात्रै भएको यादवले बताए। ‘आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहन्छ,’ यादवले भने।

जसपाका केन्द्रीय नेता मोहम्मद इस्तिहाक राईले दुई पार्टी मिले मधेसलाई नै फाइदा हुने बताए। ‘विचार मिल्नेहरू मिलेर जाऔं भनेर स्थानीय चुनावअघिदेखि नै भन्दै आएका हौं,’ उनले भने,‘ औपचारिक रूपमा लोसपाका नेताहरूसँग छलफल भएको छैन।

अब संघको चुनावअघि नै मिल्न सम्भव भएसम्म मिलेर जाऔं भन्ने हिसाबले यादवजीले बोल्नुभएको हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here