लोमान्थाङ र कोरला सडक एक हप्ता बन्द हुने

१७ असार, जोमसोम । लोमान्थाङ र कोरला सडक एक हप्ताका लागि आवागमन बन्द गरिने भएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीस्थित घमी खोलाको अस्थायी काठे मोटरेबल पुल मर्मत कार्यका लागि घमीदेखि चराङ, लोमान्थाङ र कोरला पहुँचमार्ग सडक असार २० गतेदेखि असार २७ गतेसम्म एक हप्ताका लागि पूर्वरुपमा बन्द गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले लोघेकर दामोदरकुण्ड–२ घमीस्थित घमी खोलामा अवस्थित अस्थायी काठे पुल जीर्ण भएको र जीर्ण पुलबाट सवारी साधन आवतजावत गर्दा जोखिम हुने भएकाले मर्मतका लागि सडक बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।

frontline

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी सडक आवागमन पूर्णरुपमा बन्द हुने जानकारी गराएको हो।

यस्तै जिल्ला प्रशासन कार्यालयले पनि शुक्रबार एक सूचना प्रकाशित घमी खोलामा अवस्थित अस्थायी जीर्ण पुल मर्मत गर्नुपर्ने भएको र खोलाबाट हलुका सवारी आउजाउ गर्न मुश्किल पर्ने भएकाले पुल मर्मत कार्य अवधिभर चराङ, लोमान्थाङ र कोरला सडक अवरुद्ध हुने जनाएको छ।

यस्तै राष्ट्रिय गौरवको जोमसोम–कोरला ११० किमी सडक अन्तर्गत घमी खोलामा पक्की पुल निर्माणको योजना परेपनि निर्माण कम्पनीको बेवास्ताका कारण घमी खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ।

२०७५ साल पुस १६ गते ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर ईमोटल कन्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको भएपनि पुलको ४० प्रतिशत भौतिक प्रगती हुँदा पुलको बाँकी काम अघि बढ्न सकेको छैन।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणधिन घमी खोला पक्की पुलको लम्बाई ४० मिटर र फुटपाथ र सडकमार्ग गरी ११ मिटर चौडा हुनेछ।

निर्माण कम्पनीले पुल बनाउन ढिलासुस्ती गरेपछि आयोजनाले निर्माण कम्पनीसँग ७० लाख ५० हजार ठेक्का मोबिलाईजेसन बापत लिएको रकम फिर्ता लिईसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here