लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह, सीडीओ भन्छन्– हामी पूरै अलर्ट छौँ
समाचार सारांश
- मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन निर्देशन दिइएको छ।
- बाढी तिब्बतबाट आएको र मानवीय क्षतिको हालसम्म कुनै खबर छैन, तर सतर्कता अपनाइएको छ।
- प्रशासनले जोखिमयुक्त परिवारलाई सुरक्षित स्थानमा सारिसकेको र अन्य बस्तीलाई पनि सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनीसहित निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् ।
‘यो लोमान्थाङभन्दा माथिबाट, छोसेरमा बाढी आएको हो । त्यो भनेको हाम्रो कोरला नाका जाने बाटोमा अन्तिम एउटा प्रहरी चौकी छ । त्यसको नजिक भएको खोला हो,’ उनले रातोपाटीसँग भने, ‘यो तिब्बततिरबाट आउँछ। त्योभन्दा माथि हाम्रो बस्ती पनि छैन, एक्सेस छैन हाम्रो अहिले । माथि हिउँताल पनि थियो एउटा बोर्डर साइडमा ।’
हिमाल जिल्ला मुस्ताङमा उक्त हिमतालको क्षेत्रतिरबाट बाढी आएको उनले बताए । ‘त्यही हिउँताल फुटेको हो कि अथवा छुट्टै आएको हो, यो चै अब यकिन गर्न अहिले सक्या छैन,’ उनले भने, ‘हाम्रो जनधनको क्षति केही भएको छैन। हाम्रो सबै प्रहरीहरू, जनप्रतिनिधिहरू, नागरिकहरू आसपासको क्षेत्रमा पूरै परिचालन भएको छ ।’
सम्भावित जोखिम भएका परिवारहरूलाई सारिसकेको उनले जानकारी दिए । चराङतिर हुँदै छुसाङ, कालीगण्डकीमा निस्किने कागबेनी खोलामा बाढी आउने सम्भावित छेउछाउका बस्तीहरू सबै ठाउँमा सतर्क रहन भनिएको उनको भनाइ थियो ।
‘मान्छेहरू त्यति साह्रै जोखिम भएको बस्ती पनि माथितिर अब छैन। त्यही लोमान्थाङनेर हो एउटा, अरू तल अब कागबेनीतिर आएपछि त कालीगण्डकीमा मिसिएपछि अलि फराकिलो हुन्छ,’ उनले भने, ‘फराकिलो भएपछि कत्रो हुन्छ, हामी पूरै निगरानीमै हुन्छौँ र सबै गाउँमा हामीले यो साइरनवाला माइक पनि दिइसक्या छौँ ।’
आसपासको क्षेत्रमा बाढी आए कहाँ गएर बस्ने भनेर ठाउँ पनि यकिन भइसकेको उनले बताए । ‘पूर्वतयारी राम्रो छ, त्यसैले त्यस्तो मानवीय क्षतिहरू हुन्न । हाम्रो पूरै परिचालन भइसक्या छ । अब प्रभावित त योभन्दा बढेर आउँछ कि भन्ने हो,’ उनले थपे, ‘यत्तिकैमा त्यति धेरै क्षति हुँदैन । हिमाली क्षेत्रमा ठ्याक्कै यकिन गर्न गाह्रो हुन्छ, कहाँनेर पानी पर्यो भनेर ।’
चिम्जुङ खोला तिब्बतबाट बग्दै छुसाङ हुँदै कालीगण्डकीमा मिसिन्छ ।






प्रतिक्रिया दिनुहोस्