लुम्बिनी प्रदेशसभा बैठक पुन: अवरुद्ध, एमालेको नाराबाजी
सोमबार, बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ ।
एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।
सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् ।
एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।
सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा नाराबाजी गरेका छन् ।
माओवादी केन्द्रको आपत्ति
माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले आफूहरुको सांसदलाई कारबाही गर्न भनी एमालेले पत्र दिएको भन्दै आपत्ति जनाए ।
एमालेले पदमुक्त गर्न आग्रह गरेको विमलाकुमारी खत्री वली नेकपा माओवादी केन्द्र संसदीय दलको सदस्य रहेको भन्दै उनले एमालेले पदमुक्त गर्न आग्रह गर्नु आपत्तिजनक भएको बताए ।
‘एउटा दलको सदस्यलाई अर्को दलले कारबाही गर्न मिल्छद्ध कि मिल्दैन ? उनले प्रश्न गरे, ‘उहाँहरु संसदीय मूल्य र मान्यता विपरीत बोलिरहनुभएको छ ।’
करिब आधाघण्टासम्म एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार नै साढे २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्