लुम्बिनीका ५ जिल्लामा विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन प्रसारण लाइन र सबस्टशेन उद्घाटन
१३ चैत, काठमाडौं । कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टशेन शनिबार एकैसाथ उद्घाटन गरिएको छ ।
सो प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा सहज विद्युत् आपूर्ति हुने तथा विद्युत्को प्राविधिक चुहावट पनि कम हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो ।
सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी क्षमताको सबस्टेशन पनि सञ्चालन आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार सन्धिखर्कमा आयोजित एक समारोहमा प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरिन् ।
प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । हाल बुटवलबाट ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
सो प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या थियो भने प्राविधिक चुहावट पनि उत्तिकै थियो ।
कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएकाले यस क्षेत्रमा विद्युत् आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताइन् ।
यस भेगका उपभोक्ताले झ्याप्प–झ्याप्प बत्ती गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकाले बत्ती बाल्न मात्रै नभई खाना पकाउन पनि विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।
‘हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत् र सिँचाइमा रुपान्तरण गरी विद्युत् उत्पादन गरौँ, कृषि गरौँ आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौँ, अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँमा खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युत्को प्रयोगमार्फत विस्थापित गरौँ’ उनले भनिन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत् पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रूपमा अगाडि बढाइएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, शीतगङ्गा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकललगायतले प्रसारण लाइन र सबस्टेशनको सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ स्थित १३२ केभीको मोतीपुर सबस्टेशनबाट सुरु भई अर्घाखाँचीको शीतगङ्गा नगरपालिका हुँदै ३८ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेशनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ टावर निर्माण गरिएको छ ।
बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेशनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेशनको यही चैत ३ चैतमा उद्घाटन गरिएको थियो ।
मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टिल जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपैयाँ छ ।
सन्धिखर्कमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेशनबाट चारवटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर तथा ठाडा सबस्टेशन र तीनवटा ११ केभीका फिडरबाट विद्युत् वितरण गरिएको छ ।
विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दूरीको ३३ केभीबाट विद्युत् आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकामा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।
उनले प्रसारण लाइन र सबस्टेशनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताए ।
सन्धिखर्क सबस्टेशन निर्माणका लागि २०७५ को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेशनको अनुमानित लागत करिब ३७ करोड रुपैयाँ छ ।
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन तथा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो ।
आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् । ती सबस्टेशनसमेत छिट्टै निर्माण सम्पन्न हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्