लिङ्ग पहिचान गरी भ्रुण हत्या रोक्ने सिस्नेको नयाँ जुक्ति प्रभावकाली बन्ला ?
सिस्ने गाउँपालिकाले भ्रुण हत्या रोक्न नयाँ अवधारणा ल्याई कार्यान्वयन सुरु गरेको छ । आमाको पेटमै लिंग पहिचान गरी भ्रुण हत्या रोक्न गाउँपालिकाले बालिका जन्माउनेलाई प्रोत्साहनभत्ता दिने नीतिअनुसार रकम दिन थालेको हो । गाउँपालिकाले हाल बालिका जन्मिनेबित्तिकै पाँच हजार रुपैयाँ जम्मा गर्न सुरु गरिसकेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ७७ जना बालिकाको खातामा ५ हजार रुपैयाँ जम्मा गरेको हो ।
गाउँपालिकाले नारी बचत खाताअन्तर्गत बालिका जन्मिए ५ हजार रुपैयाँ जम्मा गर्दै आएको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक सुरेन्द्र यादवले जानकारी दिए । गाउँपालिकाले बालिकाको नाममा २०७६ सालदेखि हालसम्म निरन्तर पाँच हजार जम्मा गर्दै आएको छ ।
गाउँपालिकाको नियमअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने, कक्षा १२ सम्म पढ्नुपर्ने, भ्रुणहत्या न्यूनीकरण गर्न, २० वर्ष नपुगे जम्मा गरेको पैसा लिन नपाउने, भु्णहत्यालगायतका समस्या रोक्न रहेको छ । उमेर पुगेपछि विवाह गरेमा महिलाको प्रजनन अंगमा समस्या नहुने भएकोले बालिका जन्मे खातामा पाँच हजार रुपैयाँ जम्मा गर्ने गरेको उनको भनाई छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ७७ जना र चालु आर्थिक वर्षमा ६ महिनायता ३५ जना बालिकाको नाममा पाँच हजार रुपैयाँका दरले जम्मा गरेको संयोजक यादवले बताए । २०७६ सालदेखि हालसम्म लगभग ३०० जना बालिकाको खातामा रकम जम्मा गरेको छ ।
स्वास्थ्य संयोजक यादवकाअनुसार गर्भवती भएका महिलाले ८ पटक स्वास्थ्य परिक्षण गरेको कागज, स्वास्थ्य संस्थामा सुत्केरी भएको र छोरी जन्मिए ३५ दिनभित्रमा अभिभावकले जन्मदर्ता गराएको हुनुपर्ने तथा आवश्यक कागजातसहित कृषि विकास बैंकमा खाता खोली बालिकाको खातामा एकपटक पाँच हजार रुपैयाँ जम्मा गर्दिने गरेको छ ।
कुनै कारणले बच्चाको मृत्यु भएमा सम्बन्धित वडाबाट सिफारिस ल्याई मृतकको अभिभावकलाई जम्मा गरेको रकम दिने गरेको उनको भनाइ छ । नारी बचतखाताअन्तर्गत बालिकाको खातामा रकम जम्मा गर्ने भएकोले गर्भवती महिलाले नियमित स्वास्थ्य परिक्षण गराएको, स्वास्थ्य चौकीमा र वर्थिङ सेन्टरमा बच्चा जन्माएको पाइएको उनले बताए ।
गाउँपालिकाअन्तर्गत ११ वटा वडा मध्येमा ८ वडामा स्वास्थ्य चौकी र ५ वटा वडामा वर्थिङ सेन्टर रहेको उनले बताए । अकालमा आमा नहोस र बालमृत्यु दर कम गर्न भएको उनको दावी छ ।
गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गरेको छ । कुनै गर्भवती महिलालाई अप्रेसन गर्नुपरेमा स्वास्थ्य चौकीले दाङ, सुर्खेत काठमाडौका अस्पतालले पठाउने गरेको छ । यसका लागि ४ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्