लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्न थालेपछि कृषकहरू चिन्तित
२१ माघ, बागलुङ । लामो समयसम्म पानी नपर्दा बागलुङमा हिउँदे बाली गहुँ र जौं सुक्न थालेपछि कृषकहरू चिन्तित भएका छन् ।
खेत बारीमा लगाइएका गहुँले बाला हाल्न सुरु गर्नुपर्ने हो । तर यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा कृषक निरास बनेका छन् । लामो समयदेखि खडेरी हुँदा पसाउन लागेकाे गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । वर्षा नहुँदा र गहुँ सुक्न थालेपछि कृषकलाई भोकमरी हुने चिन्ता बढेको छ ।
जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिंदै आएको छ । गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा पसाउने समयमा सुक्न थालेको गलकोट नगरपालिकाका कृषकले बताएका छन् । बारीको मकै भित्र्यार गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउ समेत उत्पादन नहुने कृषकहरूले चिन्ता व्यक्त गरेका छन् ।
हिउँदामा पानी नपरेपछि गहुँकाे बीउ पनि नआउने भएकाले कृषकलाई पिरोलेको छ । गलकोट, जैमिनी, बागलुङ, निसीखोला र बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ । ढोरपाटन, तमान र ताराखोलामा जौं उत्पादन हुन्छ । बागलुङमा कूल ७ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङले आँकलन गरेकाे छ ।
खेती योग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिंचाइको सुविधा रहेकाे छ । जसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र २ हजार ७ सय ७५ हेक्टर रहेकाे छ । पछिल्लो समय बसाइँसराइका कारणले खेती योग्य जमिन समेत बाझै बस्न थालेकाे छ ।
प्रतिक्रिया दिनुहोस्