ललितपुर महानगरको पूरक बजेटमा चक्रपथ बाहिरका क्षेत्रलाई प्राथमिकतामा

२५ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो पूरक बजेटमा चक्रपथ बाहिरका क्षेत्रहरुलाई प्राथमिकता दिएको छ । महानगरले चक्रपथ बाहिर खासै चासो नदिएको भन्दै जनप्रतिनिधिहरुले नै गुनासो गर्दै आएका थिए । सोही विषयलाई हिउँदे अधिवेशनमा समेटिएको महानगरले जनाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार पूरक बजेटले पूर्वाधार क्षेत्रमा चक्रपथ बाहिरलाई प्राथमिकता दिएको हो ।

frontline

‘पूरक बजेटमा सबैभन्दा धेरै पूर्वाधारको लागि बजेट ल्याइएको छ । यसमा चक्रपथ बाहिर गर्नुपर्ने धेरै काम छ । विशेषगरी सडक सुधारमा, निर्माणमा ३० करोड बजेट छ, यसमा चक्रपथ बाहिरका योजनाहरु समेटिएका छन् ।’

ललितपुर महानगरपालिकाले अब चक्रपथ बाहिर फोहोर मैला उठाउने गाडी र नगर प्रहरीलाई पनि प्राथमिकताको साथ खटाउने भएको छ ।

अर्यालले महानगरका चक्रपथ बाहिरका वडाहरु साविक गाविसबाट महानगर बनेको भन्दै प्राथमिकतामा राखेर काम गरेको बताए ।

ललितपुर महानगरपालिकाले गत बिहीबार १ अर्ब १५ करोडको पूरक बजेट पारित गरेको थियो । पूरक बजेट आएसँगै ललितपुर महानगरको आर्थिक वर्ष २०७९/८० को कूल बजेट ७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत असारमा सम्पन्न नगरसभाले चालु आर्थिक वर्षको लागि ६ अर्ब ३५ करोड रुपैयाँ बजेट पारित गरेको थियो ।

पूरक बजेटमा फोहोर मैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा अधिग्रहण, स्लटर हाउसका लागि जग्गा खरिद, वडा नम्बर ५ को वडा कार्यालय निर्माणका लागि जग्गा खरिद, ब्लड बैंकका लागि सामग्री व्यवस्थापन, सडक स्तरोन्नती, प्रत्येक वडामा योग कक्ष स्थापना गर्ने लगायतका क्षेत्रमा पूरक बजेट खर्च गरिने महानगरले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here