लन्डनमा भोक हड्ताल गरिरहेका भूपू गोर्खामाथि प्रहरी हस्तक्षेप

बुधवार, लन्डन । गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल चौथो दिनको भोक हड्ताल गरिरहेका भूतपूर्व  गोर्खामाथि बेलायती प्रहरीले  हस्तक्षेप गरेको छ ।  

१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा रहेका गोर्खाहरुमाथि हस्तक्षेप गर्दै प्रहरीले त्रिपाल हटाएको छ ।

frontline

समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्प घले राणासहितका तीन अभियन्ता  गत शनिबारदेखि आमरण अनसनमा बसेका थिए ।  

मंगलबार बिहान अनसनस्थल पुगेको प्रहरीले बेलायती कानूनअनुसार उक्त स्थानमा त्रिपाल लगाउन नपाइने भएकाले हटाइएको बताएको छ ।  

शुरुमा प्रहरीले त्रिपाल हटाउन खोज्दा गोर्खाहरुले रोक्न खोजेपनि प्रहरी पछि हटेन ।  आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले त्रिपाल हटाउँदै गरेका प्रहरी अधिकृतहरुलाई ’हामीले २ सय ७ वर्षदेखि तिमीहरुको देशका लागि लड्दै आएको बदलामा यही पुरस्कार दिएको हो ?’ भनी प्रश्न गरेका थिए ।

त्यसक्रममा प्रहरीले गोर्खाहरुको अनसन वा विरोधका कार्यक्रममाथि हस्तक्षेप गर्ने कुनै मनसाय नरहेको बताएका थिए ।  

गोर्खाहरुले भने कानूनको वहाना बनाएर त्रिपाल हटाइनुलाई आफूहरुको अनसन बिथोल्ने षडयन्त्रका रुपमा बुझेका छन् ।  

गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले अब बेलायत सरकारले विभिन्न वहानामा क्रमिक रुपमा अनसन बिथोल्न कोशिश गर्न सक्ने बताए ।  

भोक हड्तालमा बसेका भुपू गोर्खाको विषयमा उच्चस्तरीय समिति गठन गर्न निर्देशन

यसैबीच भूतपूर्व गोर्खाहरुको सम्बन्धमा नेपालस्थित संघीय संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिले एक उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएको छ  ।

सोमबार बसेको समितिको बैठकले गोर्खा आन्दोलनको गाम्भीर्यतालाई ध्यानमा राखी एक उच्च स्तरिय वार्ता समिति गठन गरी बेलायत सरकारसँग अविलम्ब वार्ता थाल्न निर्देशन दिएको हो । 

परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि सभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यहरु, भूतपूर्व गोर्खाका प्रतिनिधिहरू एवं सम्बन्धित विषयका विज्ञहरु समेत रहने गरी एक उच्चस्तरीय समिति गठन गरेर ब्रिटिश सरकारसंग वार्ता गर्न समेत सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here